गोरखामा ‘सहयोद्धा’बीच रोचक प्रतिष्पर्धा

गोरखामा ‘सहयोद्धा’बीच रोचक प्रतिष्पर्धा


तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बनेका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक÷फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि गोरखाको चुनावी माहेल रोचक बनेको छ । माओवादी जनयुद्धकी एक मात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त छन् । उनीहरू दुवैले आफू जित्ने दाबी गर्दै आएका राससकर्मी प्रशन्न पोखरेलद्वारा सम्प्रेषित समाचारमा जनाइएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बनेकी हुन् । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार छिन् । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उनी कारागार तोड्ने व्यक्तिका रूपमा चिनिन्छिन् । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उनी बाहिर निस्केकी थिइन् ।

नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बनेका छन् । माओवादीमा रहँदा उनी तीन पटकसम्म ककारागारमा परेका थिए । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गरेका बताइन्छ । विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत भएका थिए ।

कारागारबाट सुरुङ खनेर बाहिर निस्कएकी नहर्की त्यसअघि पनि पटकपटक कारागार परेकी थिइन् । विसं २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेकी उनी सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार परिन् भने ५६ मा फेरि पक्राउ परेकी उनी ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुगेकी थिइन् ।

राजनीतिमा संघर्ष गर्दागर्दै उनी एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार भइन् ।। क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उनी अहिले पोलिटब्यूरो सदस्य हुन् ।

यस्तै, हरिशरण आचार्य विद्यार्थी नेताको रूपमा चिनिन्छन् । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिएका उनी ०५४ मा पूर्णकालिन कार्यकर्ता बने। विसं ०५४ मा पहिलोपटक पक्राउ परेका उनी किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुटेका थिए ।

विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बनेका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ परे । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुटेका थिए ।

विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय भएका उनी उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लागेका हुन् ।

नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बनेका आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार थिए तर उनको सटृा अशोक देवकोटाले टिकट पाएका थिए । पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउँछन् ।