चुनाव चिन्ह कैँची पाएका डाक्टर मैदानबाट फिर्ता

चुनाव चिन्ह कैँची पाएका डाक्टर मैदानबाट फिर्ता


संंखुवासभाका एमालेका बागी उम्मेदवार डा. गुप्तबहादुर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । पार्टीले आफूलाई टिकट दिनेमा ढुक्क भइरहेको अवस्थामा प्रतिकुल माहोल सिर्जना भएकोले जनचाहनाअनुरुप प्रतिनिधिसभाको सदस्यका लागि डा. श्रेष्ठले गत ५ गते उम्मेदवारी दर्ता गरेका थिए ।

तर, आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले आफ्नो उम्मेदवारीले भ्रम सिर्जना गरेको भन्दै चुनावी मैदानबाट फिर्ता भएको जानकारी गराएका छन् । ‘मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन स्पष्ट बहुमतको सरकार अपरिहार्य रहेको’ तर्क गर्दै उनले विज्ञप्तिमा भनेका छन्– ‘आगामी २०७४ मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मैले संखुवासभामा कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गरेको सर्वविदितै छ । पार्टीले कमरेड राजेन्द्र गौतमलाई वाम तालमेल र एकताको घोषित सहमतिअन्तर्गत उम्मेदवार बनाएको स्थितिमा मेरो उम्मेदवारीले अन्योल र भ्रम सिर्जना हुनपुगेको छ ।’

उम्ममेदवारी फिर्ताको प्रयोजनार्थ जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन स्पष्ट बहुमतको सरकार अपरिहार्य छ । नेकपा (एमाले) र माओवादी केन्द्र लगायतका क्रियाशील वामशक्तिहरुले मुलुकलाई दुई तिहाई बहुमतको सरकार प्रदान गर्ने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा मेरो उम्मेदवारीबाट उत्पन्न भ्रमलाई चिर्दै प्रतिनिधिसभाका लागि सूर्यध्वजाबाहक उम्मेदवार कमरेड राजेन्द्र गौतम र वाम तालमेलको आधारमा खडा भएका जिल्लाका दुवै प्रदेश सभाका उम्मेदवारहरुको विजयका लागि अग्रसर हुन सबैमा अनुरोध गर्दछु । यसनिम्ति मेरो उम्मेदवारी (चुनाव चिन्ह कैँची) स्वयम्ले खारेज गरेको घोषणासमेत गर्न चाहन्छु । कानुनी र वैधानिक रुपमा उम्मेदवारी कायम रहने स्थितिको भ्रममा नपर्न आह्वान गर्ने हिसाबले म जिल्लाका सबै मतदातासमक्ष स्वयम् उपस्थित भई निर्वाचन अभियानलाई सफल, सार्थक र विजयको परिणाममा पु¥याउन लागिपर्ने समेत जानकारी गराउन चाहन्छु । वाम गठबन्धनको विजयभन्दा भिन्न मेरो आफ्नो कुनै उद्देश्य र स्वार्थ छैन । यो कुरालाई मध्यनजर गरेर पार्टीको नेतृत्व तहमा मैले आवश्यक परामर्श र छलफल गरेर यो महत्वपूर्ण निर्णय लिएको व्यहोरा समेत सबै जिल्लावासीमा अनुरोध गर्न चाहन्छु ।’

ज्ञातव्य छ- गत साता उम्मेदवारी दर्तापछि डा. श्रेष्ठले आफ्नो फेसबुक वालमा शंखुवासभाका मतदाताका नाममा यस्तो स्ट्याटस लेखेका थिए-‘आदरणीय दाजुभाइ, दिदीबहिनी र शुभचिन्तक, आज मैले मंगसिर १० गते हुन गैरहेको चुनावमा संखुवासभाबाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएको छु । ३८ वर्षमा एमाले पार्टीलाई दिएको योगदानको पुरस्कार स्वतन्त्र उम्मेदवार भै पाएको छु् । न्यायको लागि कैँची चुनाव चिन्ह लिएर यहाँहरुको माझमा उभिएको छु । तपाईहरु न्यायाधीश हो र मेरो स्वास्थ्य र शिक्षा छेत्रमा गरेको कामको उच्च मुल्यांकन गर्नुभई आझ धेरै सेवाको मौका दिनुहुनेछ भन्ने पुरा विश्वास छ ।’

यसरी डा. श्रेष्ठले लाचारीपूर्वक उम्मेदवारी फिर्ता लिएको सन्दर्भलाई शंखुवासभामा अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले नेतृत्वले ‘राम्रै’ प्रलोभन दिएर उनको उम्मेदवारी फिर्ता गराएको चर्चा जिल्लावासीले गर्न थालेका छन् ।