चुनावको मुखमा मनाङमा बढ्यो सन्त्रास

चुनावको मुखमा मनाङमा बढ्यो सन्त्रास


‘गुण्डा नाइके’को छवी बनाएका दिपक मनाङे उर्फ राजिव गुरूङ यतिबेला मनाङको प्रदेशसभा ‘ख’का लागि एमालेको समर्थनमा बाम गठबन्धनको स्वतन्त्र उम्मेदवार बनेको विषय चर्चामा छ । तर, उनको चर्चा यत्तिमै सीमित छैन । चुनाव प्रचारका क्रममा रहेका मनाङेले मनाङका दुवै प्रदेशसभामा एमालेको झण्डासहित आफ्नो चुनावी प्रचार थालेका छन् । मनाङमा आफ्नो पछि हिँड्ने युवाको कमी भएपछि आफ्नो पछि लाग्ने जमात देखाउनकै लागि उनले रसुवा, नुवाकोटलगायतका जिल्लादेखि ‘बाहुबली’ युवा ओसारेर ‘आफूलाई सहयोग नगरे जे पनि हुन सक्ने’ भन्दै स्थानीय युवाहरूलाई धम्क्याउन थालेको समाचार आएको छ ।

बताइएअनुसार अपरिचित अनुहार मनाङमा देखिन थालेपछि चुनावी प्रचारका क्रममा झडप हुने त्रास मनाङवासीमा बढेको छ भने मतदातामा असुरक्षाको भाव बढेको छ । केही दिनअघि अघि नेपाली काङ्ग्रेसका सक्रिय सदस्यसमेत रहेका जिल्लाका दलित नेता घ्यालनचोकका गम्भीरजङ्ग विकमाथि एमाले कार्यकर्ताको ठूलो समूह गएर आफ्नो बारीमा काम गर्दै गरेको अवस्थामा कुटपिट गरेको थियो भने राजीव गुरूङकै आदेशमा केहीअघि होटल व्यवसायी कर्मा वाङ्दी र टासी छिरिङलाई अपहरण गरी उनीहरूको साथमा भएको रकम लुटेको उजुरी प्रहरीमा परेपछि चुनावी खर्च ल्याएको आशंकामा आफूहरूले खोसेको भन्दै प्रहरीसमक्ष माफी माग्दै रकम फिर्ता गरेको प्रसङ्ग निकै चर्चामा थियो ।

निर्वाचनपूर्व सन्दर्भमा जिल्ला बाहिरका अनुहार सल्बलाउँदा पनि प्रहरी र प्रशासनले भने कुनै कदम नचालेको भन्दै अन्य दलका कार्यकर्ताले गुनासो गरेका छन् । ‘पर्यटकीय क्षेत्र भएकाले जो पनि आउन–जान सक्ने, ओहारदोहर गर्न पाउने’ तर्क दिँदै प्रहरी प्रशासनले मनाङेलाई नै सहयोग पु¥याएको उनीहरूको दाबी छ ।

आफूलाई प्रदेशसभाको टिकट दिए एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङबाट एमाले उमेदवारलाई जिताउने प्रतिबद्धता जनाएकै कारण केहीअघि राप्रपामा प्रवेश गरेका दिपक मनाङे एमालेबाट टिकट पाउने आशमा उम्मेदवारी दर्ताको एक साताअघि मात्र एमाले छिरेका थिए । यस्ता वदनाम र विवादित व्यक्तिलाई प्रदेशसभाको उम्मेदवारका रूपमा सिफारिस गरेपछि एमालेको चौतर्फी आलोचना र पार्टीभित्रै विवाद परेको थियो । त्यसपछि लाज बचाउन देखाओटी रूपमा मनाङेको सट्टामा खण्डा लामा गुरूङलाई टिकट दिएर पछि मनाङेलाई नै समर्थन गर्ने गरी एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर जग हँसाएको सन्दर्भ पनि ताजै छ ।

यतिबेला मनाङे बाहिरी जिल्लाबाट झिकाइएका आफ्ना जत्थाका साथ बाम उम्मेदवारलाई जिताउने भन्दै अर्को प्रदेशतिर लागेका र आफ्नो क्षेत्रभन्दा बाहिर गई दबदबा मच्चाउँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

प्राप्त जानकारी अनुसार मनाङेकै इइशारामा काङ्ग्रेससमर्थक नागरिकलाई अपरिचित अनुहारका व्यक्तिहरूले धम्क्याउने उपक्रम बढेकोले त्यहाँ कुनै पनि बेला नराम्रो घटना घट्न सक्ने सम्भावना बढेर गएको छ । यस्तो अवस्थामा आममतदाताले कसरी भयमुक्त भई मतदान गर्न सक्लान्, प्रश्न उठेको छ ।