प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी, तालमेल, प्रचारप्रसारको चटारोसँगै राजनीतिक दलहरू दोस्रो चरण (मङ्सिर २१) मा चुनाव हुने जिल्ला-क्षेत्रका उम्मेदवार चयनको उत्कर्षमा छन् । वाम–गठबन्धनपछि उत्पन्न तरङ्गले उतर्सिएको काङ्ग्रेस ‘लोकतान्त्रिक गठबन्धन’को कसरतमा रहे पनि उम्मेदवार छनोटबारे सहज निर्णय लिन नसक्दा सकसमा परेको छ । खासगरी राजपा, राप्रपाजस्ता दलहरूसँगको तालमेल प्रयास उम्मेदवार चयनमा आइपरेको असहजताकै कारण धरापमा परेको छ । चाहेको क्षेत्रमा आफू नै उम्मेदवार हुनुपर्ने कतिपय नेताका हठले काङ्ग्रेस नेतृत्वलाई विलखबन्दमा पारेको छ । ‘मै हुँ’ भन्ने केही नेताका उम्मेदवार बन्ने हठकै कारण कथित लोकतान्त्रिक शक्तिहरूसँगको चुनावी तालमेलको प्रयास आरम्भमै भताभुङ्ग हुने खतरा पैदा भएको छ ।
नेपालको सिङ्गो राजनीतिक वृत्त ‘विकारको तलाउ’मा रूपान्तरित हुन पुगेको विषय निकै अघिदेखि सचेत नागरिक तप्कामा चर्चा र बहसको सन्दर्भ बनिआएकै हो । राजनीतिलाई देशसेवाको पवित्र माध्यमका रूपमा नलिई धनार्जनको गतिलो पेसा वा व्यवसाय ठान्नेहरूको बिगबिगी बढेको छ । सबैजसो दलका उम्मेदवारमा देखिएको साझा दृष्टिकोण नै ‘धन भए चुनाव लड्न र जित्न सकिन्छ, चुनाव जिते शक्ति–सत्ता पाउन सकिन्छ र शक्ति–सत्ता भए अकुत धन आर्जन गर्न सकिन्छ’ भन्ने छ । अर्थात्, पदका लागि धन र धनका लागि पद नै राजनीतिकर्मीको अहम् एजेण्डा बनेको छ । यतिबेलाका राजनीतिकर्मीहरू यस्तो विकृत अवधारणालाई मूलमन्त्र मानेर अघि बढिरहेकाले दूराभीष्ट राख्ने बाह्य शक्तिका लागि पनि नेपालमा चलखेल गर्न थप सहज परिवेश हुर्किरहेको छ, ‘बिकाउ’ पात्रहरू राजनीतिमा दिनप्रतिदिन हाबी जो भइरहेका छन् ।
जब देशको माया र चिन्ता दिलैदेखि गर्ने मानिसको राजनीतिमा प्रवेश र अधिपत्य रहँदैन, राजनीति सङ्लिने र त्यसका माध्यमबाट मुलुक स्थायित्व एवम् समृद्धिको दिशातर्फ लम्किने कल्पना गर्नु नै निरर्थक हुन्छ । राजनीति भनेको नितान्त देश र जनताको हित गर्नका लागि गरिने समाजसेवा हो भन्ने भावनाले जबसम्म राजनीतिक कार्यकर्ता अभिप्रेरित हुँदैनन्, जबसम्म जनताको सोच, स्तर र भावनासँग जोडिएर राजनीतिक सिद्धान्त र नीति अवलम्बन गरिँदैन, यिनै दल, यस्तै राजनीतिकर्मी या नेता–कार्यकर्ताको बोलवाला चल्ने माहोल जबसम्म कायम रहन्छ, मुलुक समृद्ध र सुखी हुने कल्पना गर्नु मृगतृष्णाबाहेक केही साबित हुँदैन ।
देश र जनतालाई सकारात्मक दिशामा अघि बढाउन सक्ने सोच, भिजन र क्षमता भएको व्यक्ति मात्र साँचो अर्थमा नेता वा राजनेता कहलिन्छ,, जब कि त्यस्तो व्यक्ति वर्तमान राजनीतिक परिवेशमा कोही नदेखिएका मात्र होइन, तत्काल त्यस्ता पात्रको उदय हुने सम्भावना पनि दृष्टिगोचर नभइरहेको अवस्था छ । दलका शीर्ष व्यक्तिहरूलाई ‘नेता’ जो भनिएको या ठानिएको छ, यो अत्यन्त हास्यास्पद छ । यथार्थमा नेता नभई यी ‘समूह’का सरदार मात्रै हुन् । विभिन्न ढाँट–छल, प्रलोभन, सम्मोहन र डरत्रासका भरमा आफ्ना पछिल्तिर कार्यकर्तारूपी झुण्ड लगाएर यिनले आफूलाई नेता भनाएका छन् । थप विडम्बनाको कुरा के छ भने ‘नेता त यिनै हुन्’ भन्दै यिनका बतासे भाषणमा ताली पिट्न यहाँका सचेत भनिने तप्कासमेत हिच्किचाइरहेका छैनन् । चेतनाको विकास नभएका आमजनताको त के कुरा गर्ने ?!
राजनीतिलाई पेसा वा व्यवसाय बनाइएको मात्र नभई जबर्जस्ती वंशवादतर्फ धकेल्न थालिएकोसमेत देखिन्छ । आफ्ना लागि मात्र नभई आर्थिक रूपले सात पुस्ताको निम्ति चिन्ता गर्ने खतर्नाक रोगले गाँजेको छ नेपाली राजनीतिकर्मीलाई । एकाध पात्रमा यस्तो प्रवृत्ति नहोला, अधिकांशचाहिँ यही मानसिकताबाट प्रेरित भई राजनीतिमा लागेका छन् भन्दा अतिसयोक्ति ठहरिँदैन ।
अवसर पाएको बेला देश र जनताले पछिसम्म सम्झना राखिरहने काम गरेर इज्जत–सम्मानका साथ राजनीतिबाट अवकाश लिऊँ भन्ने सोच भएका एउटै नेता नदेखिएका, बरु पद र शक्ति भएको बेला परिवार, आफन्त र नातागोतादेखि आसेपासे तथा निकटका कार्यकर्ता पोस्ने काम गरेर आफूप्रति सदा नतमस्तक तुल्याउने सोचबाट सञ्चालित राजनीतिजीवीबाट के आस गर्ने ? राजनीतिक मूल्य–मान्यता, सिद्धान्त, आदर्श र पद्धतिको कुरै छैन, फगत विकृति–विसङ्गतिको अभ्यास जारी छ । घुक्र्याएर, धम्क्याएर र रकम बुझाएर टिकट लिने, पैसाको खोलो बगाएर चुनाव जित्ने, अनि चुनावमा भएको खर्च उठाउन राज्यको ढुकुटी दोहन गर्ने संस्कार सामान्य बनेको परिवेशमा सुखद भविष्यको कामना कसरी गर्ने ?
प्रतिक्रिया