चुनावले रोकेन चिसो, मतदाताविहीन बन्दै हिमाली जिल्ला

चुनावले रोकेन चिसो, मतदाताविहीन बन्दै हिमाली जिल्ला


कात्तिकको पहिलो सातादेखि नै अत्यधिक जाडो बढेपछि हिमाली जिल्लामा मङ्सिर १० गते चुनाव हुन कठिन देखिएको छ । मङ्सिर १० गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि चुनाव गर्न सरकार र निर्वाचन आयोगले तयारी गरे पनि जाडो बढेका कारण स्थानीयवासी आ–आफ्नो घर छोडेर न्यानो स्थानमा जान थालेका छन् ।

मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, मुगु, उत्तरी गोरखा, दार्चुला, संखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, उत्तरी घादिङ, रसुवालगायतका जिल्लाका उच्च स्थानमा रहेका गाउँहरूमा हिउँ परिसकेको त्यहाँस्थित हाम्रा प्रतिनिधिहरूले जनाएका छन् । हिउँद लागेपछि हिमाली जिल्लाका अधिकांश गाउँबाट विभिन्न सहर र भारतमा गएर बस्ने चलन रहेको छ । अहिले चुनावको कुनै मतलब नै नगरी जाडोबाट बच्न हिमाली क्षेत्रका स्थानीयवासी धमाधम जिल्ला छोडेर अन्यत्र लाग्न थालेका छन् । मनाङ, मुस्ताङका स्थानीयवासीहरू जाडो छल्न पोखरा, काठमाडौंलगायतका सहर र भारतका विभिन्न भागमा पुगिसकेका छन् । जाडो छल्न जानेहरूले यही बेलामा व्यापार गर्ने र चैतमा घर फर्केर खेतीपाती गर्ने गर्छन् । घर छोड्नेहरूले चुनावभन्दा ज्यान प्यारो भएकोले जिल्ला छोडेर न्यानो स्थानमा जानुपरेको बताएका छन् ।

खप्नै नसक्ने जाडो बढेकोले सबै परिवारसहित पोखरा बस्न जान थालेको डोल्पाका हुल्मु गुरुङले बताए । उनीसँगै गाउँभरिका अघिकांश पोखरा, बुटवल, नेपालगञ्जलगायतका स्थानमा धमाधम जान थालेका छन् । गाउँगाउँबाट आफ्ना मतदाताहरू जिल्ला छोडेर हिँड्न थालेपछि हिमाली जिल्लाका उम्मेदवारलाई अहिले चिन्ताले छाएको छ । के–कसरी मतदातालाई जिल्ला छोडेर जानबाट रोक्ने भन्ने विषयमा हरेक पार्टीका जिल्ला समितिहरूमा छलफल र बैठक गरिएको छ । उम्मेदवारहरूले आफूलाई भोट हाल्ने मतदाताहरूले नै जिल्ला छोडेर गएपछि यो चुनावको औचित्यमाथि नै पार्टी बैठकहरूमा प्रश्न उठाउन थालेका छन् ।

जाडोले हिमाली जिल्लाका गाउँहरू रित्तिन थालेका र कतिपय स्थानीयहरू दलहरूलाई छक्याएर लुकीलुकी ठूला सहरमा पसिसकेका स्थानीयले बताए । भोट माग्न प्रचारमा हिँड्नुपर्ने बेलामा भोट दिने मान्छे नै नभएपछि मनाङ, मुस्ताङका उपल्लो भेगका गाउँहरू अहिले शून्य बनेका छन् । दलहरूका नेताहरू सदरमुकाम र ठूला सहरहरूमा बसेर चुनावी गफ हाँके पनि उच्च हिमाली जिल्लाहरूमा चुनावको कुनै रौनक नदेखिएको निर्वाचन कार्यालयका एक कर्मचारीले जानकारी दिए । नाम नबताउने सर्तमा उनले चुनावको माहोल छैन भनेर हामीले भन्दा दलहरू र सरकारले हामीलाई कारबाही गर्छ, तर यथार्थमा उच्च हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न तराई र ठूला सहरहरूमा गइसकेकाले चुनावी माहोल शून्य बनेको जनाए ।

काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलहरूले आफ्ना उम्मेदवार उठाए पनि अत्यधिक जाडो बढेका कारण उनीहरूले चुनाव प्रचार गर्न सकेका छैनन् । सबैजसो हिमाली जिल्लाका सदरमुकाममा मात्र बैठक, छलफल र घरदैलो कार्यक्रम गरिएको, तर गाउँगाउँ पुगेर मतदातासँग कुनै उम्मेदवारले भोट माग्न नसकेको विभिन्न जिल्लाका सदरमुकामका प्रतिनिधिहरूले जानकारी दिएका छन् । आफूलाई भोट दिने मतदाता र चुनाव प्रचारमा हिँड्ने कार्यकर्ताको अभावका कारण उम्मेदवारमा निराशा पैदा भएको छ । मौसम अनुकूल समयमा सरकारले चुनाव नगर्ने तर प्रतिकूल मौसममा मात्र यस्तो कठिनाइ झेलेर चुनावको मिति तोक्नु दलहरूले निष्पक्ष चुनाव गर्न नखोजेको आरोप स्थानीय बुद्धिजीवीहरूले लगाउन थालेका छन् ।

मौसम विज्ञान विभागका अनुसार अझै दिनप्रति दिन जाडो बढ्ने र मङ्सिरको पहिलो सातादेखि अधिकांश हिमाली जिल्लामा हिमपात हुने सम्भावना रहेको छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष जाडो छिटो बढेकोले कात्तिक मसान्ततिर तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात हुने अनुमान मौसम विभागका अधिकारीहरूले गरेका छन् । सरकारले यही मङ्सिर १० गते पहिलो चरणमा हिमाली जिल्ला र २१ गते पहाडी तथा तराईका जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गराउने तयारी गरेको छ ।