दुई महिनापछि ‘मधेस प्रदेश’को जन्म हुने उपेन्द्र यादवको दाबी

दुई महिनापछि ‘मधेस प्रदेश’को जन्म हुने उपेन्द्र यादवको दाबी


हेमशंकर सिंह (सप्तरी) ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन मधेशका लागि युद्ध रहेको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष यादवले भने, ‘यो निर्वाच अरुका लागि चुनाव होला तर मधेश र मधेशीको लागि युद्ध हो र यो युद्ध जसरी पनि जित्नैपर्छ ।’

मधेश आन्दोनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै गरिबी र बेरोजगारीबाट मधेशलाई मुक्ति दिलाउनु आजको आवश्यक्ता रहेको भन्दै यादवले त्यसका लागि २ नम्बर प्रदेशमा मधेशीकै नेतृत्वमा सरकार बन्नुपर्नेमा समेत जोड दिए ।

संविधानमा संघीय संरचना त्रुटीपूर्ण रहनुका साथै मधेशलाई ५ भागमा खण्डित गरीएकाले खण्डित मधेश मिलाएर स्वायत्त मधेश प्रदेश निर्माण गर्ने बेला आएको भन्दै यादवले भने, ‘अबको २ महिनापछि मधेश प्रदेशको जन्म हुँदैछ, अब २ नम्बर प्रदेश हैन मधेश प्रदेश हुनेछ, तर यो तब हुन्छ जब मशाल जित्छ ।’

सोही कार्याक्रममा बोल्दै फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले देशलाई कब्जामा लिएर जनतालाई गुलाम बनाउन भएको बाम गठबन्धन सबैभन्दा खतरनाक रहेको बताइन् ।

सोही कार्यक्रममा अध्यक्ष यादवले विजय गच्छेदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष रहीसकेका शैलेश चौधरीसहित दर्जनौं नवप्रवेशीहरुलाई फूलमाला लगाई पार्टीमा प्रवेश गराए । नेपाल लोकतान्त्रिक फोरम केही साताअघि मात्र नेपाली कांग्रेसमा विलय भइसकेको छ ।

तत्कालीन नेपाल सदभावना पार्टीका आफूलाई संस्थापक बताउने चौधरी नेकपा एमाले, नेपाल लोकतान्त्रिक फोरम हुँदै फोरम नेपाल प्रवेश गरेका हुन् ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, केन्द्रीय सदस्यद्वय अनिरुद्ध सिंह यादव र विनोद चौधरी तथा नवप्रवेशी शैलेश चौधरी लगायतका वक्ताहरुले बेलेका थिए ।