झापामा यस्तो छ मनोनयन दर्ताको तयारी

झापामा यस्तो छ मनोनयन दर्ताको तयारी


संघीय संरचना अनुसार पहिलो पटक मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मनोनयन दर्ता हुँदैछ । संविधानसभाबाट जारी संविधानमा व्यवस्था भएअनुरुप संघीय संरचना अन्तर्गत पाँचवटा क्षेत्र कायम भएको झापामा प्रतिनिधिसभामा ५ र प्रदेशसभाका १० सदस्यका लागि मंसिर २१ गते निर्वाचन हुने झापामा आज कात्तिक १६ गते मनोनयन दर्ता गरिंदैछ ।

मनोनयन दर्तालाई सहज बनाउनका लागि राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी तीनबुँदे लिखित सम्झौता समेत गरिएको छ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोक्नुका साथै मनोनयन दर्ता गराउने समयपनि निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।

राप्रपाले बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गराउने छ भने राप्रपाको कोणसभाका लागि मेची रंगशाला तोकिएको छ । यसैगरी, ११ देखि १२ः३० बजेसम्म राजपासहितको गठबन्धनले उम्मेदवारी दर्ता गराउने छ भने राजपाको कोणसभास्थल खाद्य गोदामको मैदानमा व्यवस्थापन गरिएको छ ।

त्यसैगरी साढे १२ बजेदेखि २ बजेसम्म नेपाली कांग्रेसहितको गठबन्धनले मनोनयन दर्ता गराउने छ । कांग्रेसहितको गठबन्धनको कोणसभास्थल एसपी मोड अगाडि अगाडीको खाली मैदान तोकिएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै बामगठबन्धनका लागि अपरान्ह २ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय मिलाइएको छ । बाम गठबन्धनको कोणसभाका लागि वीरेन्द्र मावि पश्चिमको खुल्ला मैदानमा ब्यवस्थापन गरिएको छ ।

ती बाहेक अन्य दलहरु र स्वतन्त्र उम्मेद्वारले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै बेला उम्मेदवारी दर्ता गर्न सक्ने मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

अन्य दलले समेत कोणसभा गर्ने भए विद्युत प्राधिकरणअगाडिको खुल्ला मैदान प्रयोग गर्ने गरी ब्यवस्थापन गरिएको छ । मेची रगंशाला पश्चिमतर्फको बाहिरी भागमा सबै दल र उम्मेद्वार र अन्य मानिसको सवारी पाकिङ्गको ब्यवस्था गरिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको झापालाई देशभरबाट महत्वका साथ हेरिएको छ ।

झापा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धामा उत्रिने भएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार बन्ने भएका छन् । ओलीका लागि यो क्षेत्र सुरक्षित ठानिएको छ ।