बाम-गठबन्धनसँग किन अत्तालिने ?

बाम-गठबन्धनसँग किन अत्तालिने ?


– डा. तिलक रावल

अक्टोवर ३, २०१७ को बाम–एकताको उदघोषले देश तरङ्गित भयो । डा. बाबुराम भट्टराई यो गठबन्धनबाट तुरुन्तै छुट्टिए पनि बन्धन मजबुत नै देखिन्छ र एमाले र माओवादी केन्द्रको उल्लेखित एकीकरण सम्भव होला–नहोला, तर निर्वाचनपछिको सरकार नबन्दासम्म यसमा ठुलो चिरा पर्ने देखिँदैन ।

यो बाम–निर्णयले सत्तासीन काङ्ग्रेस पार्टीमा अपेक्षित हलचल पैदा गऱ्यो । वक्तव्यहरूका फोहरा छुट्न थाले र प्रजातान्त्रिक गठबन्धनका प्रयास थालिए । विजयकुमार गच्छेदारले त आफ्नो पार्टी फोरम लोकतान्त्रिकलाई काङ्ग्रेसमा विलीन गराए भने दुबै रा.प्र.पा. गठबन्धनमा सामेल भए । मधेशकेन्द्रित दुई पार्टी (समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी)सँग कुरा मिलिसकेको छैन । अहिलेसम्म बाम एकतालाई काङ्ग्रेसले आफ्नो कार्यशैली तथा रणनीतिक कार्य र सोबाट प्राप्त हुने परिणामबाट मुहतोड जवाफ दिन सकेको छैन ।

वक्तव्यभन्दा कार्यमा ध्यान दिनुपर्ने बेलामा भाषण चलेकै छन् र यी भाषणमा एमाले र माओवादी केन्द्रले एकलौटी राज्यसत्ता स्थापना गर्न खोजेको, अधिनायकवाद स्थापना गर्न खोजेको जस्ता आरोप लगाइएका मात्र देखिन्छन् । यी आरोप काङ्ग्रेस सभापति देउवादेखि अन्य जान्नेसुन्ने नेताहरूले पनि लगाउँदैछन् । राजनीतिमा यस्ता आरोप–प्रत्यारोप चलिरहन्छन्, तर बुझ्न नसकिने कुरा के हो भने जनताको मतबाट एक पार्टीको दिगो सरकार निर्माण गर्ने प्रयत्न गर्नु अपराध हो ? के साँच्चिकै यो गठबन्धनले परम्परा, धर्म, संस्कृतिलाई भत्काउने प्रयत्न गर्नेछ ? के विपक्षीको भूमिका समाप्त गर्ने प्रयत्न हो यो ? के विश्वले अङ्गिकार गरेको उदार, लचिलो आर्थिक नीतिको उल्टो दिशा (विनाश) तर्फ नेपाललाई डोऱ्याइने प्रयत्न हो यो ? मलाई लाग्छ यो सम्भव छैन । यस सन्दर्भमा म प्रथमतः आर्थिक पक्षमा मात्र केन्द्रित भएर सानो विवेचना प्रस्तुत गर्न चाहन्छु ।

केन्द्रिकृत अर्थ व्यवस्था, जहाँ बजारभन्दा सरकारले उत्पादनदेखि वितरण र उपभोगसम्ममा प्रमुख भूमिका खेल्छ, अफाप सिद्ध भएपछि साम्यवादी मुलुकहरूले पनि बजारमुखी व्यवस्थाको अवलम्बन गर्दै अर्थतन्त्रलाई खुला र लचिलो बनाउँदै अपेक्षित फल प्राप्त गरेको तथ्य चीन जस्ता साम्यवादी मुलुकले प्रस्तुत गरिसकेका छन् । हालै सम्पन्न कम्युनिस्ट पार्टीको बैठकबाट राष्ट्रपति सी अझै शक्तिशाली भएको बुझिन्छ र उनले राजनीतिमा खुकुलोपनको कुनै सङ्केत नगरे पनि विदेशी लगानीको लागि बजारलाई अझ खोलिने र लचिलो बनाइने, वित्तीय र विनिमय दरसम्बन्धी सुधारहरू अझ ज्यादा बजारमुखी हुने कुरा बताएका छन् । आर्थिक दृष्टिले सम्पन्न चीन नै विश्वमञ्चमा निर्णायक भूमिका खेल्न सक्छ भन्ने धारणा पनि उनले राखेका छन् । बाम गठबन्धन पनि उद्घोष गरे झैँ देशलाई आर्थिक समृद्धितर्फ लान दुई तिहाई बहुमतको लागि प्रयत्नशील हुन्छ भने कोही किन अत्तालिने ?

गरिब नेपालीका पेटका लागि अन्न पानीको व्यवस्था गर्न, निमुखा देशवासीको वास र वस्त्रको प्रबन्ध गर्ने मामलामा पार्टीका नाइकेहरूले भुल्न नहुने कुरा यो हो कि अब कुनै पनि सरकार आर्थिक क्रियाकलाहरूलाई आफ्नो अधीनमा राखी बजारलाई नियन्त्रण गर्न सक्दैन । यसको मतलब सरकार सबै कार्यबाट अलग भएर सम्पूर्ण कुरा बजारलाई छोड्ने पनि होइन ।

वाम गठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि प्रयत्न गर्छ भने यसलाई नाजायज करार गर्न मिल्दैन, किनकि यस पद्धतिले सरकार सञ्चालकहरूलाई एउटा राम्रो समय उपलब्ध गराउँछ । यदि देश निर्माण गर्न इच्छा र क्षमता भएका व्यक्तिले जिम्मेवारी पाए भने सोचेको जस्तो विकास र उन्नति गर्ने अवसर पनि हुन्छ ।

हामीलाई थाहा छ, आज आदम स्मिथको पूर्ण अहस्तक्षेपकारी नीति काम लाग्दैन भने आर्थिक मामला, खासगरी उत्पादनमा, गहिरो राज्य संलग्नता प्रत्युत्पादक हुन्छ । राज्यको संलग्नता कम गर्दै अर्थतन्त्रलाई खुला र लचिलो बनाएर भारतले ८-९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको तथ्य हामी सबैलाई थाहा छ । यो व्यवहारिक तथ्यबाट कुनै पनि जिम्मेवार वामपन्थी अलग रहन सक्दैन । ग्रिसमा वामपन्थीको असफलताबाट पनि हामी केही सिक्न सक्छौँ । हाल ग्रिस सरकारले अमेरिकासँग दुईपक्षीय क्रियाकलाप बडाउन चाहेको छ र उनका आर्थिक नीति खुला र लचिला छन् । हामी नभुलौँ राजनीतिक फाँटमा एकदलीय प्रणाली बहुदलीय प्रणालीमा जान कठिन छैन, तर बहुलवाद प्रतिपक्षको भूमिका नरहने गरी एकदलीय शासन प्रणाली जान असंभवप्रायः छ ।

साथै आर्थिक फाँटमा देखिएको उदारवादलाई पछि धकल्ने प्रयत्न सफल हुँदैन् । हामीले यो पनि देखेका छौैँ कि कुनै देशमा आर्थिक फाँटमा उदारवाद छाइसक्दा राजनीतिक फाँटमा बहुलवादले प्रवेश पाएको हुँदैन तर आर्थिक उदारवादलाई राजनीतिक उदारवादले अन्तत्वगत्वा पछ्याउने कुरामा ठुलो विमति नहुन सक्छ । भारतमा राजनीतिक उदारवादलाई धेरै पछि मात्र आर्थिक उदारवादले पछ्याएको हो, राजिव गान्धी तथा नरसिंह रावका समयमा । बाम एकतालाई केही नेताहरूले भने झैँ, अवसरको रुपमा लिनु प¥यो । आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ र यस दिशाततर्फ बढ्न यो अवसर पनि हो ।

यसै सन्दर्भमा वाम गठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि प्रयत्न गर्छ भने यसलाई नाजायज करार गर्न मिल्दैन, किनकि यस पद्धतिले सरकार सञ्चालकहरूलाई एउटा राम्रो समय उपलब्ध गराउँछ । यदि देश निर्माण गर्न इच्छा र क्षमता भएका व्यक्तिले जिम्मेवारी पाए भने सोचेको जस्तो विकास र उन्नति गर्ने अवसर पनि हुन्छ । यी कुराबाट प्रजातान्त्रिक पक्ष झस्केर तर्सिएको अनुभूति सबभन्दा ठूलो पार्टी ने.का.का नेताहरूका क्रियाकलापबाट जनताले गर्न थालेका छन् । पटक–पटक मन्त्री बनिसकेका केन्द्रीय सदस्य रहेका र मन्त्री बनाउने हैसियत भएका नेताहरूले प्रत्यक्ष निर्वाचनमा नभिडी समानुपतिकतर्फ संरक्षण खोजेको जगजाहेर भैसकेको छ । यी क्रियाकलापले पार्टीका आम मतदाताको मनोबल गिराएको छ ।

सहारा र संरक्षणका प्रतीक ठानिने नेताहरू नै साहारा खोज्न थाले भने यी मतदाताले कसको भरोसा गर्ने ? पार्टीका नेताको मुख्य कार्य नै अहिले मतदाताको गिरेको मनोबल उकास्नु नै होे । शब्द भन्दा कार्यले बलियो देखिनु पऱ्यो । वास्तवमा बलियो हुनका लागि नै गठबन्धन बनेका हुन् । एमाले आफै एकमना सरकार बनाउन सक्ने स्थितिमा रहेको भए प्रचण्डलाई फकाउने कार्य ओलीबाट हुँदैनथ्यो । मधेशमा आफ्नो स्थिति कमजोर रहेको जानकारी एमाले नेताहरूलाई थियो र मधेशकेन्द्रित पार्टीहरूलाई विश्वासमा लिन सक्ने स्थिति थिएन र छैन पनि । अतः मधेशमा तुलनात्मक रुपमा केही राम्रो पकड रहेको माओवादी केन्द्रको साथ उसले खोज्यो र पार्टी र आफूलाई कमजोर बन्दै गरेको देखेका प्रचण्डले हात मिलाए ।

यसरी परिस्थितिजन्य बाध्यताले गठबन्धन बन्न पुग्यो । यो गठबन्धनले वामपन्थी हौसिएका छन् र काङ्ग्रेस केही झस्किएको छ र उसले गठबन्धनको काम चालु राखेको छ । कमजोर स्थितिमा रहेका दुबै रा.प्र.पा. ले साथ दिएका छन् भने सारै तल झरिन्छ होला भन्ने भयले ग्रसित गच्छेदारजीले पार्टी विलय गरेका छन् । कमजोर स्थितिमा सुधार ल्याई राजनीतिक अस्तित्व जोगाइराख्नका लागि यी निर्णय भएका छन् भने मधेशका शक्तिका रूपमा उदायका उपेन्द्र यादव र महन्त ठाकुर नेतृत्वका दुई पार्टी आफ्ना अडानमा कायम छन् । यी दुईसँग कांग्रेसको अर्थपूर्ण गठबन्धन वा तालमेल भएन भने वामहरू जस्तै थप उर्जा र शक्ति प्राप्त गरेको अनुभूति कांग्रेसले गर्न सक्ने छैन र चुनावको नतिजा प्रष्ट किसिमले बाम पक्षमा जाने छ । जे–जस्ता अभीष्ट बामहरूले पालेका भएपनि, जस्तोसुकै बहुमत प्राप्त गरे पनि आशा गरौँ– उल्टो दिशातर्फ ओलीजी पक्कै पौडिने छैनन् । देउवाजी र गच्छेदारजीको लामो समयपछिको पुनर्मिलनले कांग्रेसलाई अति आवश्यक उर्जा प्रदान गरोस् ।