काङ्ग्रेसले भक्तपुर–२ मा दमननाथलाई उम्मेदवार बनाउन खोजेपछि…

काङ्ग्रेसले भक्तपुर–२ मा दमननाथलाई उम्मेदवार बनाउन खोजेपछि…


जिल्लाबाट सिफारिस गरिएका नामहरूलाई पूरै उपेक्षा गर्दै नेपाली काङ्ग्रेस नेतृत्वले मनपरी उम्मेदवार थोपर्न लागेपछि भक्तपुरका काङ्ग्रेसजनमा व्यापक असन्तुष्टि छाएको छ । कांग्रेसले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट पछिल्लो समय आफूलाई मानवअधिकारवादी अभियन्ताको रूपमा चिनाउन खोज्ने भूतपूर्वसभापूख दमननाथ ढुंगानालाई उम्मेदवार बनाउन खोजेको बुझिएको छ ।

बालुवाटार सुत्रका अनुसार भक्तपुरमा विशेष प्रभाव रहेको नारायणमान बिजुक्छेको पार्टी नेपाल मजदूर किसान पार्टीसँग अघोषित गठबन्धन गरी दमननाथलाई टिकट दिन खोजिएको हो । यसको सुइँको पाएपछि भक्तपुरका काङ्ग्रेस नेता तथा कार्यकर्ता कांग्रेस केन्द्रिय नेतृत्वप्रति व्यापक आक्रोशित बन्न पुगेका छन् ।

भक्तपुरको उक्त क्षेत्रबाट यसअघि कांग्रेसका रामेश्वर ढुंगेलले चुनाव जितेका थिए । यसपटक जिल्लाबाट सिफारिस भएका नामहरूमा जिल्ला सभापति दुर्लभ थापा, रामेश्वर ढुंगेल, कविर राणा चर्चामा थिए । तर, सिफारिस नामका कुनैलाई पनि टिकट नदिई कांग्रेस राजनीतिमा निष्क्रियप्रायः रहेका दमननाथलाई टिकट दिने प्रपञ्च किन–कसको स्वार्थमा गरिँदै छ, बुझ्न नसकिएको भक्तपुरका एक कांग्रेस नेताले बताए ।

अर्को एक सुत्रका अनुसार भक्तपुर–२ बाट एमालेका उम्मेदवार महेश बस्नेतलाई जसरी पनि चुनाव हराउने अभियानअन्तर्गत नेमकिपासमेतको योजनामा कांग्रेस नेतृत्वले जिल्लाका लोकप्रिय नेताहरूलाई पन्छाउँदै यस्तो अप्रिय निर्णय लिन लागेको हो ।