नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मीमा नेपाली कांग्रेसको जित कसैले रोक्न नसक्ने दाबी गरेका छन् । इतिहास र कामको मुल्याङ्कनका आधारमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको उनले बताए ।
बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले गुल्मी जिल्लालाई नेपालको नमुना बनाउने काम गरेको भन्दै जनताले त्यसको मुल्यांकन गर्ने बेला आएको तर्क गरे । ‘गुल्मी क्षेत्र न १ बाट म प्रतिनिधिसभाका लागि उम्मेदवार बनेको छु, हार्नुपर्ने कुनै कारणै छैन, विकासमा बाढी ल्याएको तपाईंहरुले देख्नुभएकै छ’ भन्दै उनले अगाडि थपे–‘कामलाई महत्व दिन्छु, प्रचारबाजी र झुटा कुरा गर्न मलाई आउँदैन ।’
सिद्धवाबाको सडकको विकल्पको रुपमा ढोरपाटन सडकको निर्माण कार्य सुरु भई सम्पन्न हुने तयारीमा रहेको उल्लेख गर्दै उनले सिद्धवाबाको सडकबाट धेरैको ज्यान गएकोले उक्त अभिसापबाट मुक्तिका लागि चुनावको बेला गरेको बाचा पुरा गरेको उनले बताए ।
त्यस्तै गुल्मीमा ७३ वटा सडक योजना आफूले पारेको, ४३ वटा पुल जिल्लामा निर्माणाधीन रहेको, ९३ वटा खानेपानी आयोजना सञ्चालन भएको र तीन जिल्लाको संगमस्थल रिडीमा एसियाकै नमुना तीनमुखे पुल निर्माण कार्य सुचारु रहेको पनि उनले जानकारी दिए ।
आफू चुनावमा बोलेको बाचा पूरा गर्ने व्यक्ति रहेको भन्दै उनले सधैं जनताबीच बसेर काम गर्ने नेता रहेको दाबी गरे । गुल्मीमा १ मा एमाले सचिव प्रदिव ज्ञवालीसँग भण्डारीको प्रतिष्पर्धा हुँदैछ भने भने २ नं मा एमाले नेता गोकर्ण बिष्ट र कांग्रेस नेता चन्द्र केसीबीच पनि कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया