नेवि संघ अध्यक्ष महरमाथि ‘कम्बल ओढेर घ्यु पिएको’ आरोप

नेवि संघ अध्यक्ष महरमाथि ‘कम्बल ओढेर घ्यु पिएको’ आरोप


प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा पार्टीका भातृसंगठन तथा संयन्त्रहरू एक ढिक्का भई चुनावी अभियानमा होमिनुपर्ने बेला काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घभित्र चर्को विवाद देखापरेको छ । सङ्घका अध्यक्ष नैनसिंह महरले स्वेच्छाचारी व्यवहार गरेर सङ्गठनलाई अन्योलको भूमरीमा धकेलेको भन्दै नेवि सङ्घका पाँच उपाध्यक्षहरूले संयुक्त वक्तव्य जारी गर्दै विरोध जनाएका छन् ।

सङ्घको विधानमा कतै व्यवस्था नभएको ‘आमन्त्रित केन्द्रिय सदस्य’ नामक काल्पनिक पद सिर्जना गरी अध्यक्षले जथाभावी मानिसलाई मनोनित गरेको भन्दै उपाध्यक्षहरू प्रकाश राना, खड्ग डाँगी, नवीन राई, उर्मिला थपलिया र सागर परियारले अवैध निर्णय तत्काल फिर्ता लिन अध्यक्ष महरलाई चुनौती दिएका छन् ।

पाँचै उपाध्यक्षद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ– ‘एकतिर निर्वाचनको संघारमा मुलुक छ भने अर्कोतर्फ बामहरूको अप्रत्यासित गठजोडले लोकतन्त्र नै धरापमा पर्ने स्थिति आइपरेको छ । यस विषयम परिस्थितिको मध्यनजर गर्दै संगठनलाई एक ढिक्का बनाउनुपर्ने ऐतिहासिक दायित्वलाई नजरअन्दाज गरी सहमति र सहकार्यको सिद्धान्तविपरीत शक्तिको आडमा वर्तमान अध्यक्षका स्वेच्छाचारी एवम् गैरजिम्मेवार क्रियाकलापले संगठनलाई अन्योलको भूमरीमा धकेलिदिएको महसुस हामीले गरेका छौँ ।’

सङ्गठनभित्र स्वयम् अध्यक्ष नै ‘कम्बल ओढेर घ्यु खाने’ प्रवृत्तिको मतियार भएको आरोप लगाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘नेवि संघ ११औँ महाधिवेशनको म्यान्डेटविपरीत जितको उन्मादमा लोक–लज्जाको ख्याल नगरी लोकतान्त्रिक विधिविपरीत पत्रमार्फत् संगठनका विभिन्न तह (जिल्ला समिति, क्याम्पस इकाई)मा मनोमानी ढंगबाट जिम्मेवारी तोकेर गुटगत टुकडी निर्माण गरेको जगजाहेर नै छ । त्यसैले यस घडीमा यथाशीघ्र अध्यक्षले आफूबाट भएका अवैधानिक निर्णयहरू फिर्ता लिई आत्मालोचना गरेर संगठनभित्र सहज वातावरण निर्माण गर्न आग्रह गर्दछौँ, अन्यथा संगठनको अस्मिता र गरिमा जोगाउनका लागि स्वविवेकबाट निर्देशित भई आन्दोलित हुनुपर्ने बाध्यताबारे सचेत गराउँदछौँ ।’