धनुषा क्षेत्र नम्बर ३ मा मंसिर २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावमा लड्ने भएका छन् ।
धनुषा निधिको गृहजिल्ला हो । नेता महतो राजपाका एक शीर्ष नेता रहेकाले मधेस आन्दोलनको क्रममा उनको आन्दोलन शैलीले जनता माझ लोकप्रिय रहेको बुझिन्छ । यसले त्यहाँको चुनावी लडाइ रोचक हुने देखिएको छ ।
पूर्वगृहमन्त्री भएकाले निधिसँग दलबल समेत थपिएको बुझिन्छ । केन्द्रसँगको पहुँचले जनतालाई आश्वासन दिन र जनतासँग प्रतिवद्धता गरी विश्वासमा लिन निधिलाई सहज रहेको बुझिन्छ ।
यिनै आधारमा चुनाव जित्ने दाउमा निधि छन् । तर महतो निर्वतमान सांसद र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष समेत थिए । तसर्थ उनलाई राज्य शक्तिको एक जिम्मेवार नेतासँग भिड्नु चुनौतिपूर्ण देखिन्छ ।
पार्टी उच्च नेता भन्दा पनि मधेस आन्दोलनकारीको रुपमा स्थापित भएका महतोले निधिसँग प्रतिस्पर्धा गर्न आफ्नो मधेस आन्दोलनलाई नै पहिलो एजेण्डा बनाउने प्रायः निश्चित छ ।
उनले राजपा जिते समग्र मधेस र मधेसी जनताले आफ्नो अधिकार सुनिश्चित गराउने नारा यस अघिदेखि नै लगाउदै आएका छन् । निधिलाई गठबन्धन र मधेसवादीको चुनौती धनुषामा निधिले राजेन्द्र महतोसंग मात्र नभई एमाले र माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
वाम गठबन्धनका नेता तथा स्वास्थ्य रज्यमन्त्री रामसिंह यादव दुई दलका साझा उम्मेदवार बनेपछि निधिलाई थप चुनौती भएको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार हाल धनुषाको क्षेत्र नं. ३ मानिएको जनकपुर उप–महानगरपालिका, नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई समावेश गरिएको छ ।
यसपटकको चुनावमा माओवादी र एमालेबीच भएको तालमेलले निधिलाई त्यति सजिलो छैन। वामपन्थीको मत जोड्दा कांग्रेस, राजपा र वाम गठबन्धनको मत करिब–करिब उस्तै हुन जान्छ ।
प्रतिक्रिया