– रेजिना गौतम
आगामी मंसिर २१ गते हुने पहिलो हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि झापामा कुल १ सय ४७ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभाका १० र प्रतिनिधिसभाका ५ वटा क्षेत्र रहेको झापामा निर्वाचन आयोगले निर्धारण गरेको समयावधिमा तोकिएको स्थानमा पुगेर कुल १४७ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशसभाका १० क्षेत्रमा ८८ जनाले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदा प्रतिनिधिसभाका ५ क्षेत्रबाट ५९ जनाले मनोनयन दर्ता गराएका हुन् ।
जसमध्ये झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामगठबन्धनबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् भने उनीसंग नेपाली कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारी चुनावी प्रतिष्पर्धामा उत्रनका लागि मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका छन् । बाम गठबन्धनबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले उम्मेद्वारी दर्ता गराएसंगै झापाको क्षेत्रनम्बर–३ मा चुनावी प्रतिष्पर्धा कडा हुने भएको छ ।
कांग्रेस नेता सिटौलालाई पार्टीले समानुपातिकको सूचीमा राखेर झापा क्षेत्र नम्वर–३ राप्रपालाई दिने भनिएपनि नेता सिटौलाले आफूले प्रत्यक्षतर्फ नै उम्मेदवारी दिने उठ्ने अडान राखेसँगै लिङ्देनले बामगठबन्धनको साथ पाएका हुन् ।
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् भने शर्माका प्रतिष्पर्धीका रुपमा बामगठबन्धनबाट माओवादी केन्द्रका सुरेन्द्र कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिष्पर्धालाई लिएर झापाका क्षेत्र नम्बर–१, ३ र ५ तीनवटा क्षेत्र चर्चामा रहेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि पार्टी जिल्ला सभापति उद्वव थापा, र बाम गठबन्धनबाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर–४ मा कांग्रेसबाट देउमान थेवेले मनोनयन दर्ता गराउँदा बामगठबन्धनबाट एलपी साँवाले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश तर्फ नेपाली कांग्रेसबाट क्षेत्र नम्बर– १को एकमा केशवाराज पाण्डे, दुईमा अशोक पोखरेल, २ को एकमा खड्गप्रसाद प्रसाई, दुईमा लक्ष्मण खड्का, ३ को एकमा भूमिराज राजवंशी, दुईमा भगिरथ पोद्दार, ४ को एकमा उत्तम सुवेदी, दुईमा किरण भट्टराई र ५ एकमा राजन ढुंगाना र दुईमा अनिलकृष्ण प्रसाई रहेका छन् ।
यस्तै बामगठबन्धनबाट क्षे नं.–को एकमा श्रीप्रसाद मैनाली, दुईमा धनश्याम अधिकारी, २ को एकमा बृख प्रधान, दुईमा एकराज कार्की ३ को एकमा पूर्णसिंह राजवंशी, दुईमा बसन्त बानियाँ, ४ एकमा झलकसिंह दर्लामी, दुईमा हिरा थापा र ५ को एकमा अर्जुन राई र दुईमा हिक्मत कार्कीले मनोनयन दर्ता गराएका छन् ।
यी संगै अन्य दलबाट पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन गराएका भएपनि दलगत रुपमा कुन दलले कति उम्मेद्वार दर्ता गराए अनि कति महिला पुरुष परे विहीवार बेलुका ७ बजेसम्म एकीन भइनसकेको जिल्ला निर्वाचन कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया