आखिर ‘शून्य’ रहेछ एक -कुसुम भट्टराई

आखिर ‘शून्य’ रहेछ एक -कुसुम भट्टराई


स्टेफन हकिङ वर्तमान युगका महान् भौतिकशास्त्री हुन् । सन् १९८८ मा प्रकाशित उनको चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ले ब्रह्माण्डका धेरै रहस्य उजागर गरेको छ । ‘बिग बैंग विस्फोट’बाट ब्रह्माण्डको सृष्टि र ‘ब्ल्याक होल’मा प्रलयको सिद्धान्त प्रतिपादन गरेका हकिङले आफ्नो सो पुस्तकमा इश्वरको अस्तित्वलाई अप्रत्यक्ष रूपमा स्वीकार गरेका थिए । उनले के पनि भनेका थिए भने इश्वरको अस्तित्व अनिवार्य रूपमा विज्ञानविरोधी छैन । हामीवरिपरिको जीवन र जगत्को निर्माणमा इश्वरको भूमिकालाई स्वीकार गर्दै उनले घोषणा गरेका थिए, ‘यदि हामीले सम्पूर्ण सिद्धान्त खोज्न सक्यौँ भने त्यो मानवीय तर्ककै विजय हुनेछ । त्यसका लाथि एकीकृत सिद्धान्त आवश्यक छ । अनि मात्र हामी इश्वरको बुद्धि बुझ्न सक्छौँ ।’
तर हालै स्टेफन हकिङले स्पष्ट रूपमा घोषणा गरेका छन्, ‘यो संसार कुनै इश्वरले बनाएको होइन । यो संसार भौतिक नियमबमोजिम अस्तित्वमा आएको हो । बिग बैंग पनि गुरुत्वाकर्षणको नियमकै परिणाम हो ।’ आफ्नो नयाँ पुस्तक ‘द ग्राण्ड डिजाइन’मा हकिङले इश्वरीय भूमिकाको खण्डन गर्दै भनेका छन्, ‘ब्रह्माण्ड परम् नियमबाट चलिरहेको छ । र ब्रह्माण्डको निर्माण शून्यबाट पनि हुनसक्छ ।’
‘ब्रह्माण्डको सञ्चालन कुनै परम् नियमबाट भइरहेको र ब्रह्माण्डको निर्माण शून्यबाट पनि हुनसक्ने’ भन्ने हकिङको स्वीकारोक्तिले फेरि पनि समग्र अस्तित्वको धुरीमा कुनै अदृश्य परम् शक्ति विद्यमान रहेको अर्थ लगाउन सकिन्छ । भलै, हकिङले इश्वरको अस्तित्वलाई नकारेका हुन सक्छन्, तर उनले शून्यको अस्तित्वलाई भने नकारेका छैनन् । भनेका छन्, ‘ब्रह्माण्ड शून्यबाट निर्माण हुन सक्छ ।’ कुनै वैज्ञानिक, गणितज्ञ वा भौतिकशास्त्रीले शून्यको अस्तित्व स्वीकार गर्नु आर्श्चर्यको कुरा हो । किनकि, अध्यात्मवाद र खासगरी हिन्दू वैदिक दर्शनको मूल आधार नै शून्य हो ।
यदि ब्रह्माण्डको निर्माण शून्यबाट हुनसक्छ भन्ने कुरालाई मान्ने हो भने शून्यको अस्तित्वलाई स्वीकार गर्नुपर्ने हुन्छ । त्यसपछि स्वाभाविक रूपमा प्रश्न उब्जन्छ, आखिर शून्य भनेको के हो ? खासमा भन्ने हो शून्यको परिभाषा विज्ञानसँग छैन । विज्ञानसँग पदार्थको परिभाषा छ । गणितको परिभाषा छ । हाम्रा इन्द्रीयहरूले देख्ने, सुन्ने, महसुस गर्ने दृश्यका बारेमा विज्ञानले धेरै कुरा भन्न सक्छ । तर शून्यका बारेमा विज्ञान केही बताउन सक्दैन । किनकि, विज्ञानले शून्यको खोजी गर्दै गरेन ।
शून्यको बारेमा अध्यात्मवादलाई धेरै थाहा छ । अझ भनौँ, अध्यात्मवादको आधार नै शून्य हो । यद्यपि, शून्य कस्तो विषय पर्‍यो भने, शून्यबोध गर्न त सकिन्छ, तर शून्यका बारेमा केही बताउन सकिँदैन । यही नै शून्यको विशेषता हो । जब भौतिकशास्त्री स्टेफन हकिङले यो ब्रह्माण्डको निर्माण शून्यबाट पनि हुनसक्छ भनेर भनेका छन् भने स्वाभाविक रूपमा उनले पनि शून्यबोध गरेको हुनुपर्छ । शून्यबोध नगरीकन उनले पक्कै पनि शून्यको चर्चा गरेका छैनन् ।
निश्चय नै हकिङलाई शून्यबोध भइसकेको छ । यो कुरा उनको ‘ब्ल्याकहोल थ्योरी’मा स्पष्ट हुन्छ । आफ्नो नजिक आउने कुनै पनि पिण्ड, ऊर्जा र प्रकाशलाई समेत निल्ने क्षमता राख्ने कालो प्वाल -कृष्ण बिबर) अर्थात् ब्ल्याकहोलको केन्द्र कस्तो अवस्थामा छ त ? त्यसबारेमा हकिङले भनेका छन्, ‘ब्ल्याकहोलको केन्द्र टाइमलेस र मोसनलेस छ ।’ अर्थात् समयातीत र गतियातीत । एक प्रकारको भ्याकुम । करिबकरिब त्यस्तै भ्याकुमको अवस्था नै शून्य हो, जहाँ गति पनि छैन, समय पनि छैन । हिन्दू विद्यापीठका सञ्चालक चिन्तामणि योगीसँग केही महिनाअघि भेट्दा उनले भनेका थिए, ‘क्यान्टम फिजिक्सले पनि आखिर शून्यको पत्ता लगायो । क्वान्टम भ्याकुम भनेकै शून्य हो । निराकार, निरञ्जन, निर्वेद, निवृत्त अवस्था हो ।’ ब्ल्याकहोलको केन्द्रमा जुन अवस्था छ, त्यही नै शून्य हो भनेर भन्न सकिन्छ । तर, कस्तो अचम्म, शून्यले संसारका सबै पिण्ड, ऊर्जा र यहाँसम्म कि प्रकाशलाई पनि आफूतिर तान्ने रहेछ । भनेपछि मूल स्रोत त त्यही शून्य नै रहेछ ।
भौतिकवादको खोजबाट पनि आखिर शून्यकै पुष्टि भइरहेको आध्यात्मिक चिन्तकहरूको मत छ । भारतका परम् गुरु ओशो भन्छन्, ‘मलाई पूर्णविश्वास छ, पदार्थको खोजी गर्दागर्दै विज्ञान एक दिन परमात्मासम्म पुग्नेछ ।’ हुन पनि, परमाणुलाई टुक्र्याउँदा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हात लाग्छ । पछिल्लो खोजअनुसार यी तीन प्रकारका कणभन्दा पनि सूक्ष्म कण -क्वार्क) पत्ता लागिसकेको छ । अझ पछिल्लो खोजबमोजिम परमाणुको केन्द्रमा अझ सूक्ष्म कणहरू छन्, जसको गति र अवस्थितिबारे स्वयम् भौतिक विज्ञान केही बताउन असमर्थ छ । जसलाई ‘थ्योरी अफ अनर्सर्टिनिटी’ अर्थात् अनिश्चितताको सिद्धान्त भनिएको छ । निश्चितताको सिद्धान्तमा आधारित हुनुपर्ने विज्ञानले पनि अब अनिश्चितताको कुरा गर्न थालेको छ । अर्थात् चेतनाजस्तै स्वच्छन्द अवस्थाको परिकल्पना गर्न थालेको छ ।
सुफी गायक नुसरत फतेह अली खानको स्वरमा एउटा गीत खुबै चर्चित छ-
‘यह जमी जब न थी, ये जहाँ जब न था
चाँद सुरज न थे, आसमा जब न थी
राजे हक भी किसिपर अयाँ जब न था
तब न था कुछ यहाँ, था मगर तु ही तु
अल्लाह हु, अल्लाह हु’
जब यहाँ केही थिएन, त्यसबेला के थियो ? अध्यात्म भन्छ, परमात्मा थियो । ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पढ्दा यो पङ्क्तिकारको मनमा एउटा जिज्ञासा उत्पन्न भएको थियो, ‘एउटा केराउको गेडाको आकारमा रहेको ब्रह्माण्ड बिग बैंग विस्फोटयता अहिलेको विराट रूपमा विद्यमान छ । तर बिग बैंग विस्फोटभन्दा अघि के थियो ? मानौँ, समयको प्रारम्भ ब्रह्माण्डको उत्पत्तिसँगै भयो । तर, ब्रह्माण्डको उत्पत्ति हुनुअघि के थियो -‘
हकिङको पछिल्लो जवाफ कि ‘ब्रह्माण्डको निर्माण शून्यबाट पनि हुनसक्छ’ पढेपछि यो पङ्क्तिकारको जिज्ञासा शान्त भएको छ । अर्थात् बिग बैंग विस्फोटअघि यहाँ यदि केही थियो भने त्यो शून्य थियो । त्यो शून्यलाई अध्यात्मवादीहरू निराकार, निरञ्जन, निर्वेद, सर्वनिवृत्त अवस्था मान्छन् । त्यही अवस्थालाई नै उनीहरू सत्चितानन्द मान्छन् । त्यही शून्यलाई उनीहरू मूल स्रोत मान्छन् । अब प्रश्न छ, भौतिकवादीहरू त्यो शून्यलाई कसरी व्याख्या गर्छन् । यदि ब्रह्माण्डको निर्माण शून्यबाट पनि हुनसक्छ भन्ने हकिङको दाबी हो भने, हकिङसँग यो पङ्क्तिकारको प्रश्न छ, आखिर शून्य के हो ? पङ्क्तिकारलाई थाहा छ, हकिङसँग यसको जवाफ छैन । किनकि, शून्यबोध गर्न सकिन्छ, बताउन सकिँदैन । जुन दिन शून्यको रहस्य खुल्छ, त्यसै दिन परम् सत्य उद्घाटित हुन्छ । हेरौँ, हि्वलचेयरमा आसन जमाएका स्टेफनले एक दिन शून्यको बारेमा पनि केही भन्नेछन् । तर, त्यो शून्य गणितको ‘जिरो’ होइन, उही परम्सत्ताको रूपमा उद्घाटित भएमा आर्श्चर्य नमान्दा हुन्छ ।