मनोनयन दर्ताकै क्रममा फोरम र राजपामा विभाजन

मनोनयन दर्ताकै क्रममा फोरम र राजपामा विभाजन


– हेमशंकर सिंह, राजविराज

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीविरुद्ध गठबन्धन गरेको राजपाका नेताहरुले विद्रोही उम्मेदवारी दिएपछि फोरमका नेताहरुले समेत अधिकांश क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सप्तरीको निर्वाचन क्षेत्र २ बाट फोरमका अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका छन् । मोंरङ र सुनसरीबाट यसअघि निर्वाचित हुँदै आएका अध्यक्ष यादवको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनीसँगै सो क्षेत्रको प्रदेश सभा १ बाट धर्मनारायण राय र २ मा लक्ष्मण यादवले उम्मेदवारी दिए । ठाकुरकै समूहमा जुलुससहित आएका रायले नयाँ शक्तिबाट मनोनयन दर्ता गराए ।

राजपा–फोरमको गठबन्धनले भने सो क्षेत्रको प्रदेश सभा १ मा फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह र २ मा राजपाका महासचिव मनिष सुमनले उम्मेदवारी दर्ता गराए । सुमनका विरुद्ध फोरमका भिमराज यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि फोरमका केन्द्रीय सदस्य अनिरुद्धकुमार सिंह यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा गठबन्धनबाट राजपाका उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले उम्मेदवारी दिएका छन् ।

राजपाका उपाध्यक्ष नवलकिशोर साहले क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट दिएको उम्मेदवारीविरुद्ध फोरमका प्रदेश समितिका सचिव शम्भु झाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ को २ बाट फोरमकै उपेन्द्रप्रसाद साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट गठबन्धनको तर्फबाट राजपाका बिदेश्वर यादव बिकीको उम्मेदवारी परेको छ ।

काँग्रेस परित्याग गरेका चन्द्रकान्त चौधरीले राजपाबाट उम्मेदवारी दिएपछि राजपाका मुनीलाल खंगले प्रतिनिधि सभा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका स्थायी समिति सदस्य एवं प्रदेशका मुख्य मन्त्रीका दावेदार सत्यनारायण मण्डलविरुद्ध एमाले प्रचार विभाग प्रमुख प्रकाश खतिवडाले विद्रोही उम्मेदवारी दिएका छन् ।

बिहान १० बजेदेखि पाँच बजेसम्म मनोनयनको समय भएपनि उम्मेदवारहरु ढिला गरी आएकाले राति सातबजेसम्म मनोनयन दर्ता भएको थियो । प्रतिनिधि सभा २ बाट सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री उमेश यादवविरुद्ध उनकै पार्टीका केदार देवले विदस्वतन्त्रबाट बिद्रोह गरी उम्मेदवारी दिएका छन् । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिवारीले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभामा एक मात्र महिला उम्मेदवार नयाँ शक्तिकी शोभाकुमारी देवले प्रतिनिधि सभा २ बाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमालेका प्रभावशाली नेता सुमनराज प्याकुरेल प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट बाहिरिएका छन् । प्रतिनिधि सभा १ माओवादीको भागमा परेपछि निवर्तमान सांसद अशोककुमार मण्डलले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर तीनबाट एमालेका निवर्तमान सांसद ताराकान्त चौधरीले उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेस र नयाँ शक्तिले समेत सबै क्षेत्रबाट छुट्टा–छुट्टै उम्मेदवारी दिएका छन् । काँग्रेसले सबैभन्दा ढिला गरी उम्मेदवारी दर्ता गराएको छ । राज्य मन्त्री तेजुलाल चौधरीले प्रतिनिधि सभाका लागि ४ बाट, जिल्ला अध्यक्ष दिनेश यादवले क्षेत्र नम्बर ३ बाट, निवर्तमान सांसद सकलदेव सतिहारले दुईबाट र अर्का निवर्तमान सांसद रंजित कर्णले २ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका छन् । अर्का निवर्तमान सांसद डा. सुबोध पोखरेलले १ को १ बाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् ।

एमालेका अध्यक्ष गोबिन्द न्यौपानेले क्षृत्र नम्बर ४ को प्रदेश सभा १ बाट, जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले ३ को प्रदेश सभा २ बाट र माओवादीका महेश यादवले २ को प्रदेश सभा २ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय प्रकाश खतिवडा र शम्भु झाले प्रदेश सभाका लागि चुनावी मैदानमा उत्रिएका छन भने एभी न्युज टेलिभिजनका सम्वाददाता बैद्यनाथ यादव फोरम अध्यक्ष उपेन्द्र यादवको प्रस्तावक बसेका छन् ।

निर्वाचनको लागि वामगठबन्धन, राजपा–फोरम गठबन्धन र काँग्रेस बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

चारवटा प्रतिनिधि सभा रहेको सप्तरीमा ५९ जनाले विभिन्न पार्टी र स्वतन्त्रबाट कात्तिक १६ गते उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट १४, क्षेत्र नम्बर २ बाट १८, क्षेत्र नम्बर ३ बाट १८ र क्षेत्र नम्बर ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी आठवटा प्रदेश सभा रहेको सप्तरीमा १०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर एकको १ बाट ९ र एकको २ बाट ९ जना, क्षेत्र नम्बर २ को १ बाट १३ र दुईको २ बाट २२, क्षेत्र नम्बर ३ को १ बाट १९ र २ बबाट १४ तथा क्षेत्र नम्बर ४ को १ बाट ११ र २ बाट १२ जनाले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।