अर्घाखाँचीमा बाम–गठबन्धन उत्साहित

अर्घाखाँचीमा बाम–गठबन्धन उत्साहित


– मुक्तिनाथ भुसाल

प्रतिनिधि तथा प्रदेशसभाका लागि हुन गइरहेको मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरि विहिबार अर्घाखाँचीमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका लागि एक र प्रदेशसभाका लागि दुईजनाको सिटका लागि बाइस जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीबाट जानकारी मिलेको छ । प्रतिनिधिसभाका लागि आठजनाको उम्मेदवारी परेको भए पनि थोरैधेरै प्रतिस्पर्धा एमाले र माकेका साझा उम्मेदवार टोपबहादुर रायमाझी र नेपाली काग्रेसका डा. रामवहादुर विसीबीच हुने देखिएको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का लागि सातजनाले उम्मेदवारी दर्ता गराएका भए पनि एमाले तथा माके गठवन्धनका साझा उम्मेदवार चेतनारायण आचार्य र नेपाली कांग्रेसका बिष्णुप्रसाद खनालबीच कति मतको फरक परयो भनेर प्रतिक्षा गर्नुपर्ने देखिन्छ । खनाल नेपाली कांग्रेसका जिल्ला सभापति र आचार्य एमालेका जिल्ला अध्यक्ष रहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ का लागि पनि सातजनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिष्पर्धा एमाले तथा माके गठबन्धनका रामजीप्रसाद घिमिरे र नेपाली काग्रेसका हिम्मतबहादुर टन्डनका बीच हुने र चुनावी परिणाम उनीहरूमध्येबाटै आउने लगभग निश्चित छ ।

उम्मेदवारी दिने दलहरूमा राजमो, नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, राप्रपा राष्ट्रवादी, नेपाल मजदुर किसान पार्टी, विवेकशिल साझा पार्टीलगायत स्वतन्त्रसमेत छन् । चुनावी परिणाम भने नेपाली कांग्रेस तथा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारका बीच सीमित बन्ने देखिन्छ । हिजो माओवादीलाई साथ लिएर नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा जिल्लाभर बहुमत प्राप्त गरेको भए पनि जिल्लाभरमा खसेको मतलाई अध्ययन गर्दा करिव ३४ सय मतले एमाले पछाडि रहेको थियो । यसबीचमा विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई प्रवेश गराएर अपुग संख्या पुरा गरिसकेको नेकपा एमाले पार्टी र त्यसमा पनि माओवादी केन्द्रबीचको संयुक्त गठवन्धनले चुनावी परिणाम सहजै दुईदलको गठबन्धन भन्दा बाहिर नजाने देखिँदैछ ।

कुनै समय नेपाली कांग्रेसको बाहुल्य रहेको अर्घाखाँची जिल्ला यसपालीको निर्वाचन पश्चात सदाका लागि लाल किल्ला बन्ने आँकलन गरिँदैछ । विगतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र बीचको चुनावी तालमेल हेर्दा दुवै भिन्न विचारका शक्ति भएका कारण गठबन्धन सफल नहुने अनुमान गरिएको भएपनि नेता तथा कार्यकर्ताहरुले इमान्दारिता निभाएका थिए । जसअनुसार पनि अहिलेको गठबन्धन कम्युनिष्ट बीचमा भएको कारण कम खर्चिलोका साथ सफल हुने अनुमान गरिएको छ ।

वर्तमाने स्थितिमा प्रदेशसभा क्षेत्र नम्बर १ मा करिव १० हजार फरक मतले बामगठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका चेतनारायण आचार्यले विजय हासिल गरि प्रदेशस्तरीय मन्त्री बन्ने पूर्वानुमान गरिएको छ । प्रदेशसभा क्षेत्र नम्वर २ का नेकपा एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे एक विपन्न नेताका रुपमा लोकप्रिय रहेका छन् । उनले पनि ८ हजार फरक मतका साथ विजयको टिका लागाउने सम्भावना देखिएको छ ।

यसैगरि प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी जिल्लाका लागि विकासवादी नेताको रुपमा पटक–पटक मन जितेका कारण भारी मतले विजयी बन्ने आँकलन गरिएको छ । समग्रमा यस चुनावपछि नेपाली कांग्रेस या यस दलका उम्मेदवारहरू चाहिँ विगतका कार्यशैलीको प्रायश्चित गर्दै बस्नुपर्ने अवस्था निम्तिने देखिएको छ ।