१० चर्चित क्षेत्रमा कसले मार्ला बाजी ?

१० चर्चित क्षेत्रमा कसले मार्ला बाजी ?


आगामी २१ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुर्दैछ । ४५ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको काम सकिसकेको छ भने प्रदेश र प्रतिनिधिसभाको ३८४ सिटका लागि ४७ सय आठजनाले उम्मेदवारी दिएका छन् । यसैक्रममा केही क्षेत्रहरु चर्चामा छन् । ती क्षेत्रमा कसले बाजी मार्ला भन्ने बडो चासोको विषय बनेको छ ।

दश चर्चित क्षेत्रहरु

चितवन ३
चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ०७० को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । कालिका कन्सट्रक्सनका मालिक पाण्डे बहालवाला वनमन्त्री हुन् । पाण्डेलाई कांग्रेसले समर्थन गरेको छ ।

काठमाडौं १
कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको काठमाडौं १ मा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेपछि चर्चामा आएको छ । यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्माले उम्मेदवारी दिएका छन् ।

काठमाडौं २
काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधकुमार नेपालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निवर्तमान सांसद दीपक कुइँकेल उम्मेदवार बनेका छन् । नेपाल र कुइँकेलसँग विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं ४
दुई युवा नेताको उम्मेदवारीले काठमाडौं ४ चर्चामा छ । कांग्रेसका चर्चित युवा नेता गगन थापाविरुद्ध वाम गठबन्धनले एमालेका युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । स्वास्थ्यमन्त्री भइसकेका थापा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्य भट्टराईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।

काठमाडौं ५
एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा. प्रकाशशरण महतबीच काठमाडौं ५ मा प्रतिस्पर्धा हुँदै छ । यो क्षेत्रमा विवेकशील साझा पार्टीले उज्ज्वल थापालाई उम्मेदवार बनाएको छ ।

धनुषा ३
कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । कांग्रेस र राजपाबीच तालमेलको प्रयास असफल भएपछि निधि र महतोबीच प्रतिस्पर्धा हुन लागेको हो ।

झापा ३
कांग्रेस प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकमा बस्न नचाहेर झापा ३ बाट प्रत्यक्ष उम्मेदवार भएका छन् । उनका प्रतिस्पर्धीका रूपमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेन देखिएका छन् । लिङदेनलाई वाम गठबन्धनले समर्थन गर्ने भएपछि सिटौला दबाबमा परेका छन् ।

झापा १
झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की (राम कार्की) र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिछन् ।

मोरङ ६
दुई चर्चित नेताबीचको प्रतिस्पर्धाले मोरङ ६ चर्चामा छ । कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ ।

सप्तरी २
सप्तरी २ पनि चर्चामा आएको छ । यस क्षेत्रबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए । उनलाई टक्कर दिन वाम गठबन्धनले संसद्मा कुर्सी मिल्काएर चर्चा कमाएका माओवादी नेता उमेश यादवलाई उठाएको छ ।

यी क्षेत्रलाई चासोका रुपमा हेरिएको छ, उम्मेदवारहरुले आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरेपनि नतिजा कसको पोल्टामा आउछ त्यो चुनावनै कुर्नुपर्ने देखिन्छ ।