अनावृत्त : पुरुषहरूले पढ्नैपर्ने कुरा -बबिता बस्नेत

अनावृत्त : पुरुषहरूले पढ्नैपर्ने कुरा -बबिता बस्नेत


अहिले विश्वभरि नै लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । लैङ्गिक हिंसाको कुरा गर्दा महिला र पुरुष या तेस्रोलिङ्गी सबैलाई जनाउँछ, लिङ्गको आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । हामीकहाँ लिङ्गको आधारमा महिला बढी पीडित हुने भएकाले लैङ्गिक हिंसा भन्नासाथ महिलामाथिको हिंसाका रूपमा बुझिएको हो । महिलामाथि नेपाली समाजमा गरिने हिंसा र विश्व परिवेश अलि फरक छ, विश्वमा पनि इस्लामिक मुलुकहरूमा महिलामाथि गरिने व्यवहार र अन्य मुलुकहरूमा फरक छ, विकसित र अविकसित देशमा भिन्न छ । नेपाली परिवेशमै पनि ठ्याक्कै यस्तो भनेर किटान गर्न सकिन्न, मानिसको पृष्ठभूमि, उसको आर्थिक स्थिति, जात, धर्म, शिक्षा, संस्कृतिजस्ता कुराहरूले फरक पारिरहेको हुन्छ । कतिपय अवस्थामा हिंसा भन्ने कुरा हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ, विशेषगरी मानसिक हिंसाका विविध रूपहरू जीवन, जीवन बाँच्ने तौरतरिका, आत्मसम्मान, अरूलाई हेर्ने दृष्टिकोणजस्ता कुराहरूमा भर पर्छ । आत्मसम्मानमा चोट लाग्दैन भने कसैले ‘तँ यो घरबाट निस्केर जा’ भने पनि फरक नपर्ला तर आत्मसम्मानले जीवनमा अलिकति मात्रै अर्थ राख्ने मानिसहरूलाई त्यो सह्य हुन सक्दैन । जीवनप्रतिको बुझाइ आ-आफ्नै प्रकारका हुन्छन् तर यति हुँदाहुँदै पनि संरचनागत रूपमै नेपाली समाजमा महिलामाथि फरक व्यवहार हुने गरेको छ । विभेदका ती भिन्न रूपहरूलाई साहित्यकार डा. प्रभा कैनीले उपन्यास ‘अनावृत्त’मा यसरी समेट्नुभएको छ कि पुस्तक पढिसक्दा नेपाली महिला (विशेषगरी क्षेत्री-ब्राह्मण) मा हुने भेदभावको पूरै चक्र अगाडि आउँछ । अहिले सहरमा महिलामाथि हुने हिंसाविरुद्धका कार्यक्रमहरूमा हिंसाका प्रकारहरूको चर्चा भइरहेको छ, कार्यपत्रहरू लेखिएका छन् तर संरचनागत हिंसाको कुरा गर्दा यो उपन्यासको जुन प्रकारले चर्चा हुनुपर्ने हो त्यो भने हुन सकिरहेको छैन । नेपालका अधिकारवादीहरू बढी ‘व्यस्त’ हुनाले किताबहरू कम पढ्छन् भन्ने मान्यता राखिन्छ, शायद त्यसैको प्रभाव हुन सक्छ यो पुस्तकको जुन प्रकारले चर्चा-परिचर्चा हुनुपर्ने हो त्यो भने हुन सकिरहेको छैन । वास्तवमा यो महिलाले आफ्नो जीवनलाई पुनरावलोकन गर्न र पुरुषले आफूले गरिरहेका व्यवहारलाई फरक तरिकाले आत्मसात् गर्नका लागि एकपल्ट पढ्नैपर्ने पुस्तक हो ।
उपन्यासकी पात्र पवित्राको जीवनमा अनायासै आएका र केही नियोजित क्षणहरूको सिलसिलेवार वर्णन गर्ने क्रममा यति सूक्ष्म कुराहरूलाई समेत समेटिएको छ कि पढ्दै जाँदा लाग्छ ‘ए हो यस्तो त मलाई पनि भएको थियो नि ।’ कतिपय अवस्थामा आफ्नै कथाझैं लाग्ने धेरै कुराहरू पुस्तकमा भेटिन्छन् । पुरुषमा निहित उनीहरूका इच्छा, आकाङ्क्षा, दिनचर्या आदिलाई मनोवैज्ञानिक ढङ्गबाट शब्दमा उतारिएको छ । ठाउँठाउँमा तारि्कक संवादहरू बडो कुतूहलपूर्ण तरिकाले राखिएका छन्, उपन्यास पढिनसकुन्जेल मन छटपटिइरहन्छ, त्यसपछि के भयो होला ? पेसाले प्राध्यापक डा. प्रभा कैनी महिला सशक्तीकरणमा विद्यावारिधि हुन्, महिला सशक्तीकरणमा पीएचडी गरे पनि पढेर होइन परेर जानेका धेरै कुरा यो पुस्तकमा छन् । महिलाले पूजा सामान मिलाइदिनुपर्ने भण्डारमा गएर पूजाचाहिँ पुरुषले गर्ने प्रसङ्गमा पवित्राले एक दिन आमालाई सोध्छे-आमा, देउताले मानिस बनाएका हुन् कि मानिसले देउता ? आमाले भन्नुभो- खै भन्न त मान्छेलाई देउताले बनाएका भन्छन् तर देउताले मान्छे बनाएको कसले देखेको छ र ? मान्छेले बनाएका देउता भने जताततै छरिएका छन्, घरघरमा, टोलटोलमा, बाटाघाटामा, रूखका टोड्कामा, खोल्साखाल्सीमा, नदीका छेउछाउदेखि ठूला-ठूला मन्दिरसम्म पुजिनसक्नु छन् । मानिसका बारेमा पनि वास्तविकता झल्काउने संवादहरू प्रसस्त छन्, यस्तै एक प्रसङ्गमा लेखकको भनाइ छ- कस्तो जाली प्रस्तुति, कति कूटनीतिक व्याख्या, आफ्नो स्वार्थलाई सर्वोपरि प्राथमिकता दिँदादिँदै पनि आवरणमा अर्कै कुरा बताउन सक्ने क्षमता छ मानिसमा । आफ्नी सासू मरेपछि ससुराको स्याहारसुसार गर्न भनेर नारायणी नामकी महिलालाई घरमा भित्र्याएपछि आफ्ना ससुराकै उमेरकी एउटी महिलालाई पवित्राले सोध्छे- तपाईंलाई कसले स्याहार गर्छ जेठीआमा ? हामी त काम गरेर खाने जात, आफ्नो सम्पत्ति छैन, कि लोग्नेलाई रिझाउनुपर्‍यो कि छोरालाई, पैला लोग्नेलाई रिझाइयो, अहिले छोरालाई रिझाउँदै छु बाबै । पवित्रा भन्छे- हाम्रा ससुरालाई केही गर्नुपर्दैनथ्यो, अर्काले खाना बनाएर बोलाएको बेलामा खाइदिए पनि ठूलै गुन मानिन्थ्यो । उनका लागि आफ्नो हेरचाह र स्याहारसुसारको बन्दोबस्त गर्न आवश्यक ठानियो । त्यसैले नारायणीलाई दस मुरी फल्ने खेत लेखिदिएर आफ्नो घरमा भित्र्याए । जेठीआमाले आफ्नो सुरक्षाका लागि भनेर कोही लोग्नेमानिसलाई केही दिएर ल्याउन सक्थिन् घरमा ? यही त फरक छ लोग्नेमानिस र स्वास्नीमानिसमा । यो पछिल्लो भनाइ लेखककै हो, पङ्क्तिकारको होइन ।
शरीर र मनसँग जोडिएका मन छुने संवादहरू पनि प्रसस्त छन् । लोग्नेसँगको प्रसङ्गमा एकपल्ट पवित्रा भन्छे- सुमन किन चिन्ता गर्थे कुन्नी, आखिर म उनकी श्रीमती छँदै थिएँ, उनको सिन्दूर पहिरिएकै थिएँ, मेरो वस्त्र र आभूषणले उनको सबल अस्तित्वबोध गराएकै थिएँ । मेरो शरीर उनको निर्बिघ्न उपयोगका लागि तयार छँदै थियो, त्यसभन्दा पनि पर उनले के खोज्दै थिए त्यो मलाई थाहा थियो । मेरो आफ्नो निजी भनेको मन थियो, त्यसमा पनि उनी हस्तक्षेप गर्न खोज्दै थिए । मेरो मनभित्र के थियो, उनका बाहेक अरूका पनि कुरा त्यहाँ छन् कि ? आशङ्कामा उनी जल्दै थिए । प्रकृत्रि्रदत्त मन नै त हो जहाँ मैले अनेकौं कुरा लुकाउन सक्थेँ, त्यसदेखि बाहेक मानिसले बनाएका नियम र बेनियम, मूल्य र मान्यताअनुसार त आइमाईको आफ्नो भन्ने के छ र ? हाम्रो समाजमा भइरहेका यस्ता अनेक वास्तविकताहरूलाई पुस्तकले समेटेको छ । बहुविवाह, बालविवाह, विधवाका कुरा, बोक्सीलगायतका लाञ्छना, पहिलोपल्ट नछुने हुँदाको सङ्कोचदेखि रजस्वला बन्द हुँदाको छटपटीसम्म, विवाहअघि र पछिको भिन्दाभिन्दै साँध-सीमाहरू, सम्पत्ति र पढाइलेखाइमा हुने विभेद धेरै-धेरै कुरा छन् पुस्तकमा । पढेर नसकुन्जेल आफूलाई त्यहाँका पात्र र परिवेशमा बाँधेर राखिराख्न सक्नु यो पुस्तकको सबैभन्दा ठूलो सफलता हो । पटकपटक लागिरहेको छ, अहिले चलिरहेको १६ दिने अभियानमा यो पुस्तक मानिसहरूको हातहातमा पुर्‍याउन पाएको भए ? स्वअस्तित्व र व्यक्तिगत स्वतन्त्रताको खोजी गर्ने एक पात्रको उदाहरण दिँदै एउटा प्रसङ्गमा पवित्राले भनेकी छे- उसले कुनै लोग्नेमानिसको सम्पत्तिको लोभ गरेकी छैन, त्यसैले ऊ भयमुक्त छे, म लोभी छु त्यसैले भयभीत छु । हो, धेरै महिला आर्थिक परनिर्भरताकै कारण भयभीत छन् र यो भयबाट मुक्त हुन आत्मनिर्भरता आवश्यक छ ।