मनिषा कोइरालाका भाइ बागी बन्न पनि अयोग्य !

मनिषा कोइरालाका भाइ बागी बन्न पनि अयोग्य !


सुनसरीस्थित निर्वाचन कार्यालयमा बिहिबार एउटा प्रसङ्ग रोचक चर्चाको विषय बन्न पुग्यो । रोचक के भने प्रदेश सांसदमा उम्मेदवारी दिन पुगेका एकजना उम्मेदवारले आफ्नो मतदाता नामावली कुन जिल्लामा छ भन्ने नै थाहा पाएका रहेनछन् । फलस्वरुप उम्मेदवारले उम्मेदवारी नै नदिई फर्किनु पऱ्यो ।

प्रसङ्ग सुनसरीस्थित प्रादेशिक सांसदमा उम्मेदवारी दिन पुगेका सिद्धार्थ कोइरालाको हो, जो जननायक वीपी कोइरलााका नाती तथा अभिनेत्री मनिषा कोइरलाका भाइ हुन् ।

उनी प्रदेशसभामै उम्मेदवार बन्न पछिल्लो २/३ वर्षदेखि तयारीमा रहेका थिए । कानूनी प्रावधानबारे ज्ञान नभएपछि सिद्धार्थ उम्मेदवारी नै नदिई फर्किनु परेको छ । उनी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा काँग्रेस जिल्ला सभापति राजीव कोइरालाविरुद्ध बागी उमेद्वारी दिन गएका थिए । तर, उम्मेदवार नै बन्न पाएनन् ।

उम्मेदवारी दिन इनरुवा पुग्दा दिउँसो पत्रकारमाझ उनले आफू बागी उम्मेदवार बन्न आएको खुलस्त उदघोष गरे। ‘मलाई यो सिस्टम मन परेन, त्यसैले बागी उम्मेदवारी दिन आएको हुँ’ भन्दै उनी इनरुवाको जिल्ला समन्वय समितिमा रहेको मनोनयन दर्तास्थल प्रवेश गरेका थिए । तर उनको मतदाता नामावली मोरङमा भएकोले सुनसरीमा उम्मेदवार बन्न नपाइने निर्वाचन अधिकृतले जानकारी दिएपछि सिद्धार्थ बागी उम्मेदवार बन्नबाट वञ्चित हुन पुगे । निर्वाचन कानुनअनुसार प्रदेशसभाको उम्मेदवार बन्न सम्बन्धित जिल्लाकै मतदाता हुनुपर्छ, यदि अर्को जिल्ला मतदाता नामावली भएको व्यक्तिले अर्कै जिल्लाबाट उम्मेदवारी दिने हो भने पहिले नै सम्बन्धित निर्वाचन कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ, जुन प्रक्रिया सिद्धार्थले पूरा गरेका थिएनन् ।

यसैगरी आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा विवादित पात्र मेडिकल कलेज सञ्चालक सुनिल शर्मादेखि पूर्वमन्त्री बद्रीप्रसाद मण्डलसम्मले उम्मेदवारी दर्ता गराएका छन् । विवादास्पद छविका सुनिल शर्माले कांग्रेसबाट टिकट पाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।अपरान्ह शर्मा बाजागाजासहितको जुलुस लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।

त्यस्तै, बद्रीप्रसाद मण्डलले पनि मोरङ ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी राजपा नेपालबाट उम्मेदवार बनेका हुन् । जुलुससहित मण्डल उम्मेदवारी दर्ता गर्न क्षेत्रीय हुलाक कार्यायमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उम्मेदवारी दिन पुगेकाबेला उनले भने, ‘मेरो उम्मेदवारी मधेशी जनताको पक्षमा हो।’  गणतन्त्र स्थापनापछि राजनीतिमा निकै कम सक्रिय भएका मण्डल एकाएक उम्मेदवार बनेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।