बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको भन्दै प्रचण्डले मागे माफी

बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको भन्दै प्रचण्डले मागे माफी


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताए ।

उनले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गरेका थिए । घटनापछि दोस्रो पटक उहाँ माडी पुगेका थिए । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उहाँ त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुष्ट राहत घोषणा गरेका थिए । दाहालले सो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जो कोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उनले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताए ।

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्काे आलोचना भएको थियो ।

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उनले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताए । आगामी पाँच वर्ष्भित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उनले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताए । राससका अनुसार वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उनको भनाइ थियो ।