उपेन्द्र यादवले गरे गम्भीर खुलासा

उपेन्द्र यादवले गरे गम्भीर खुलासा


– हेमशंकर सिंह

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन राष्ट्रपति डा.रामवरण यादवलाई तीन दलले संविधान पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको खुलासा गरेका छन् । फोरम नेपालसम्बद्ध बुद्धिजीवी फोरमले शनिबार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो खुलासा गरेका हुन् ।

संविधान जारी भएपछि तत्कालीन राष्ट्रपति यादवलाई हस्ताक्षर गर्नुपूर्व पढेको कि नपढेको भनी सोध्दा डा. यादवले प्रमुख दलका शीर्ष नेताहरूतर्फ इङ्गित गर्दै एकैपटक संविधान जारी गर्ने बेला संविधानसभामा आफ्नो अघिल्तिर संविधान राखिदिएको दुःखेसो आफूसँग पोखेको अध्यक्ष यादवले बताए ।

शितल निवासमा राष्ट्रपतिले संविधानमा हस्ताक्षर गर्दैन कि भन्ने आशंकामा तीन दलले राष्ट्रपतिले संविधानसभामै आएर हस्ताक्षर गर्नुपर्ने निर्णय गरेको समेत अध्यक्ष यादवले जानकारी दिए ।

संविधानसभामा कुनै प्रकारको छलफल नै हुन नदिई बालुवाटारमा संविधान निर्माण गरी तीन दलले ह्वीप जारी गरी संविधानसभामा हुन्छ भन्न लगाई संविधान जारी गरेको आरोप लगाउँँदै अध्यक्ष यादवले वर्तमान संविधान अन्तरिम संविधान भन्दा पनि प्रतिगमनकारी रहेको दाबी गरे । संविधानमा नाम मात्रको संघीयता राखिएको र संघीयतालाई एक प्रकारले विकेन्द्रिकरणकै रुपमा राखिए पनि आंशिक भए पनि प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार र विकासका लागि अगाडि बढ्नुपर्ने दोहारो दायित्व आफुहरु माथी आइपरेको धारणा समेत उनले राखे ।

मंसिर २१ गते हुन गइरहेको निर्वाचन संविधानसभाको निर्वाचनभन्दा कम महत्वपूर्ण नरहेको भन्दै यादवले निर्वाचनबाटै बन्ने संसदले संविधान संशोधन, राज्यको पूनःसंरचना र १३३ वटा कानूनको निर्माण गर्नुपर्ने भएकोले सोका लागि आफुहरूले तेस्रो धारको आवश्यकता महसुस गर्दै सामाजवादी लोकतान्त्रिक धार निर्माण गरेको जानकारी दिए ।

प्रदेश नम्बर २ लाई प्राकृतिक श्रोत साधनवाट वञ्चित गरिएको आरोप लगाउँदै अध्यक्ष यादवले सप्तकोशी नदी र कोसी टप्पु बनजन्तु आरक्ष खोस्न २०३२ सालमा शासकले सप्तरीमै रहेको आफ्नो गाउँ मधुवनसम्मको भूभाग खोसेर सुनसरीमा गाभे पनि त्यतीबेला सप्तरीले विरोध गर्नुको साटो सहर्ष स्विकार गरेको समेत उनले बताए ।

विकासको मामिलामा सप्तरी नेतृत्वको आभावका कारण धेरै पछि परेकाले आफ्नो जन्मभूमिमा केही गर्नुपर्ने ममताले तानेर आफुलाई सप्तरी ल्याइपू¥याएको उहाँको तर्क थियो ।

फोरम र राजपा नेपाल बीचको गठबन्धन विरुद्ध धेरै सडयन्त्र भइरहे पनि दुईपार्टी बीचको गठबन्धन केही व्यक्तिविशेषका कारण नटुट्ने भन्दै आफ्ना नेता कार्यकर्ताहरूलाई उनले आश्वस्त पारे । सार्वजनिक मञ्चमा गठबन्धन कायम रहने भने पनि राजपाका बागी उम्मेदवारहरुले ठाउँ–ठाउँमा दिएको उम्मेदवारी फिर्ता नलिए राजपाका राष्ट्रिय उपाध्यक्ष मृगेन्द्र कुमारसिंह यादव र महासचिव मनिष कुमार सुमन लगायतको क्षेत्रमा फोरमले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता नलिने निश्कर्षमा फोरम नेपाल पुगेको श्रोतले जनाएको छ ।