‘कम्युनिष्टहरू बीपीकै बाटोमा’

‘कम्युनिष्टहरू बीपीकै बाटोमा’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्माले कम्युनिष्टहरू पनि बीपीकै बाटो हिँडेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ क्षेत्र नम्बरको क्षेत्रीय भेलामा प्रमुख अतिथि शर्माले कम्युनिष्टहरूले संसदीय व्यवस्थाबाट सत्ता प्राप्त गर्ने लक्ष्य राख्नु बीपीकै बाटो भएको तर्क अघि सारे ।

कार्यक्रममा बोल्दै लोकप्रिय युवा नेता शर्माले नेपालको राजनीतिमा एकअर्कालाई गाली गर्ने अध्यायको अन्त्य गर्नुपर्ने धारणा राखे । नेपाल शिक्षक संघ क्षेत्र नम्बरको क्षेत्रीय भेलामा प्रमुख अतिथि शर्माले जनताको मन जिते मात्रै मत जित्न सकिने स्पष्ट पार्दै अर्कालाई गाली नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नुपर्ने झापा क्षेत्र नम्बर–१ बाट देशभर मैत्रीभाव छर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै क्षेत्रनम्बर–१ ख बाट प्रदेशसभा सदस्यका उम्मेद्वार अशोक पोखरेलले राजनीतिका परिभाषमा भएको विकृति सुधार्न आफ्नो उम्मेद्वारी भएको बताए । बाम गठबन्धनले कम्युनिष्ट सत्ता लागू गर्न खोज्नु उसको दिवा सपना भएको उनको धारणा थियो ।

त्यस्तै, क्षेत्र नम्बर–१ ‘क’का प्रदेशसभा सदस्यका उम्मेद्वार केशवराज पाण्डेले सत्ता भोग गरिसकेका कम्युनिष्टहरुले पुनः सत्ताकै लागि अपवित्र गठबन्धन गरेको टिप्पणी गरे ।

नेपाल शिक्षक संघका नगरसभापति होमराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ झापाका सभापति नेत्र खरेल, हेमकुमार खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर नगरसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक रमेशकुमार दाहालले गर्नुभएको थियो ।

‘फजुल खर्च होइन शिक्षा देउ’

यसैबीच, तमू ह््युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका महासचिव सूर्यबहादुर गुरुङले शिक्षामा कमजोर भएकै कारण राज्यका निकायमा गुरुङ समुदायको उपस्थिति हुन नसकेको बताएका छन् । तमू ह््युल छोज धीं गुरुङ राष्ट्रिय परिषद झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सूर्यबहादुर गुरुङले आफ्ना छोराछोरीलाई फजुल खर्च गर्न नदिई शिक्षा दिन सहभागीहरूलाई आग्रह गरे ।

जिल्ला अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा शनिबार सम्पन्न उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक लक्ष्मिप्रसाद गुरुङ, पूर्वसांसद सुधिरकुमार शिवाकोटी, परिषदका पूर्व केन्द्रीय सदस्य जलकुमार गुरुङ, दूर्योधन गुरुङ, दिपक गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।