बहुमत पाए ५ बर्षमा घरबारबीहिनलाई घर बनाइदिन्छौं : एमाले सचिव

बहुमत पाए ५ बर्षमा घरबारबीहिनलाई घर बनाइदिन्छौं : एमाले सचिव


नेकपा एमालेका केन्द्रीय सचिव एवं बाम गठबन्धनबाट लमजुङ प्रदेश (ख) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दावी गरेका छन् ।

अहिले स्थानीय तहको पहिलो पार्टी नेकपा एमाले र तेस्रो पार्टी नेकपा माओवादी केन्द्र मिलेकाले बहुमत ल्याउन कुनैपनि तागतले छेक्न नसक्ने उनले बताए । घलेगाउँमा आयोजित तिजे उत्तरकन्या स्पोर्टस् क्लवको खेलकुद संरचनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व पर्यटनमन्त्री समेत रहेका गुरुङले पहिलो र तेस्रो पार्टी मिलेर बहुमत ल्याउने र ७ वटै प्रदेश र केन्द्रमा बहुमतको सरकार बताउने उनले बताए । विकास र समृद्धिका लागि बहुमत सरकार बनाउनको लागि एमाले–माओवादीका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । जनाताको अधिकार संविधानले दिएकाले यसको कार्यान्वयन, स्थीर सरकारको लागि बहुमतको सरकार चाहिने उनले बताए ।

बहुमतको सरकार बनाउने अवसर पाए देशभरका घरबारबीहिनलाई ५ बर्षको अवधिमा घर बनाइदिने नीति अघि सारिएको उनले बताए । ‘एमाले र माओवादी केन्द्रको गठबन्धनले नेपालको विकास र समृद्धि साथै र नेपालको कायपलट गर्न चाहेका छौं ।’ उनी भन्छन्, ‘बहुमत सरकारको नेतृत्व पाएमा ५ बर्षमै विकास र समृद्धिको ढोका खोल्छौं ।’

कार्यक्रममा संविधान सभा सदस्य एवं सांसद जमीन्द्रमान घलेले स्थीर सरकारको लागि बहुमत आवश्यक भएकाले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले जित्नुको कुनै विकल्प नभएको बताए । उनले बाम गठबन्धनबाट एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई मुख्य मन्त्रीको दावीसहित प्रदेश (ख) बाट उम्मेदवार बनाइएको र भावी मन्त्रीका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका बरिष्ठ नेता देवप्रसाद गुरुङलाई उम्मेदवार बनाइएको भन्दै दुवै उम्मेदवारले जितेमा यस क्षेत्रमा विकासको लहर फैलिने बताए ।

यस्तै, प्रदेश (क) मा बाम गठबन्धनबाटै एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी उम्मेदवार बनेकाले तीनै जनाले जितेमा लमजुङको मुहार फेरिने र सुखी जीवनको सुरुवात हुने उनले बताए । उनले आफू जिल्ला विकास समितिको सभापति हुँदा सुरुवात गरेको पर्यटन प्रवद्र्धनका कार्यक्रम सफल रुपमा संचालन हुँदै पृथ्वीसुब्बा गुरुङ पर्यटन मन्त्री हुँदा घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँ बन्न सफल बनेको बताए । उनले यस क्षेत्रको विकास र समृद्धिका लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको दोहो¥याए । स्मरण रहोस् यसअघि पर्यटन मन्त्री भएका गुरुङले लमजुङको घलेगाउँलाई सार्क राष्ट्रको नमुना गाउँ घोषणा गर्ने बाहेक अन्य केही काम गर्न सकेनन् । पछिल्ला निर्बाचनहरुमा घलेगाउँ र शित्तलेस्वाँरा विमानस्थल लाई देखाएर भोट माग्ने उनको बानी भने अझै हटेको छैन् ।

नेकपा मओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेलले बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । संविधान कार्यान्वयनको लागि २ वटा सरकार बन्दै गरेको भन्दै उनले केन्द्रीय सरकारका लागि माओवादी केन्द्रका वरिष्ठ नेता देवप्रसाद गुरुङ र प्रदेश सरकार प्रमुखका लागि एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई जिताउन आग्रह गरे । शान्ति, समृद्धि र विकासका लागि बाम गठबन्धनलाई बहुमतको आवश्यक परेको उनको भनाई थियो ।

कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, अखिल नेपाल महिला संघकी अध्यक्ष यसोदा रिमाल, एमाले क्व्होलासोंथर गाउँ संगठन कमिटीका सचिव सूर्य गुरुङ, युवा संघका गण्डकी अञ्चल संयोजक गोविन्द बस्नेत, बेलायती सेनाका सेवानिबृत्त नवराज घले, रणबहादुर गुरुङ, जंगबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटनका अवसरमा कन्याज्योति युवा क्लवका कलाकार, राष्ट्रिय कलाकार गणेश गुरुङ, विष्णु गुरुङ, निस्ता गुरुङ, सविना गुरुङ, भारती घले, शंकर गुरुङ ‘बतासे’ लगायतले सांगीतिक प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रम तिजे उत्तरकन्या स्पोर्टस् क्लवका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको संचालन कन्याज्योति युवा क्लबका अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।