लहानमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै छ : नेता गिरी

लहानमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै छ : नेता गिरी


नेपाली काँग्रेसका नेता प्रदिप गिरीले कम्युनिष्ट शासन भएका देशहरु आर्थिक रुपमा सबल नरहेको भन्दै प्रजातान्त्रिक विचारधारा बोकेका उम्मेदवारलाई भोट हाल्न मतदाता समक्ष आग्रह गरेका छन् ।

प्रेस युनियन सिरहाले लहानमा आयोजना गरेको पत्रकार भेटघाटमा वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेको दावी गरेका छन् । यो बहसलाई सञ्चार माध्यमहरुमा स्थान दिन पनि उनले पटकपटक आग्रह गरे ।

नेपाली काग्रेसबाट सिरहा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि उम्मेदबारी दिएका नेता गीरीले मधेसको मुद्धा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई राम्रोसँग थाहा भएकोले मधेसी जनता आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘मधेसवादी दलले अस्वीकार गरेको संविधान मैले पनि स्वीकार गरेको छैन् । संविधानमा हस्ताक्षर पनि गरेको छैन् । संसद बहिस्कारसम्म गरेको छु । त्यसैले मलाई विश्वास छ कि मधेसका जनताले मलाई जिताउँछन् ।’

एक प्रश्नको उत्तरमा उनले स्थानीय स्तरमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै रहेको दावी गरे । उनले भने, ‘तालमेलका लागि अझै छलफल जारी छ । भोलीसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले फोरम–राजपा गठबन्धनबीच छलफल चलिरहेको छ ।’