सेनाको नजरमा असुरक्षित उम्मेदवार !

सेनाको नजरमा असुरक्षित उम्मेदवार !


चुनावका बेला असुरक्षित महशुस गरेका उम्मेदवार तथा नेताहरुलाई नेपाली सेनाले सादा पोसाकमा सुरक्षा दिएको छ ।

नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवार तथा नेताहरुको सुरक्षालाई ध्यानमा राख्दै बढि खतरा भएकाहरुलाई सादा पोसाकबाटै सुरक्षा दिन थालेको हो ।

सेना स्रोतले भन्यो,‘ सुरक्षा खतरामा रहेका नेतालाई सादा पोसाकमा सुरक्षा दिइएको छ, आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुुरक्षा निकायसँग समन्वय गर्न पनि नेता तथा उम्मेदवारलाई सचेत गराइएको छ ।’ उम्मेदवारले आफूमाथि पर्न सक्ने खतरा आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतना अपनाउन सेनाले आग्रह समेत गरेको बुझिन्छ ।

सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत सेनाको सुझाव छ । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराउने गरेको छ ।

कतिपय नेताहरू सार्वजनिक समारोहमा जाँदा ध्यान दिनुपर्ने र राति अबेरसम्म हिँड्दा समस्या पर्न सक्ने भन्दै सचेत गराइएको सेना सम्बद्ध स्रोतले बतायो । तराईका केही स्थानमा त्यस्तो चुनौती रहेको सेनाले उल्लेख गरेको छ ।

त्यस्तै उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले उम्मेदवार आफैं सचेत रहनुपर्ने विषयमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । सेनाले त्यस्ता सबै स्थानमा आफ्ना सुरक्षाकर्मी खटाइसकेको छ ।

सुरक्षाको अवस्थाबारे पृतनापतिसहितको छलफलपछि थप सजगता र नयाँ रणनीति तय गर्ने सेनाले जनाएको छ । ‘सेनाले आफ्नो निगरानी जारी राखेको छ । हामीले सबै उपाय अवलम्बन गरेका हुन्छौं । चुनावविरोधी गतिविधिमा कुनै छुट हुने छैन । सबै तयारी गरिसकेका छौं ।

सेना आ–आफ्नो स्थानमा पुगिसकेको छ,’ सेनाको उच्च स्रोतले भन्यो । सेनाले चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्मको तयारी गरिसकेको जनाएको छ ।