‘प्रचण्डले चितवन होइन, चितवनले प्रचण्ड खोज्यो’

‘प्रचण्डले चितवन होइन, चितवनले प्रचण्ड खोज्यो’


माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन रोजेको नभई, चितवनले आफूलाई खोजेको बताए ।

आइतवार चितवन निर्वाचन क्षेत्र नं ३ अन्तरगत पशिचम चितवनको चनौली बजारमा बाम गठबन्धनको संयूक्त निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले चितवनको बिकास, सम्बृद्धि र देशकै नेतृत्व गर्न आफूले चितवनबाट उमेद्वारी दिनुपरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंसिर २१ गते हुने निर्वाचनमा बिकास र परिबर्तनको पक्षमा रहेका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन आग्रह पनि गरे । उनले स्थिर सरकारमार्फत राष्ट्रको विकासका लागि बाम गठबन्धनले चुनाब जित्नैपर्ने भन्दै चितवको सर्वाङ्गीण विकासका लागि योजनाबद्ध रूपमा आफु लागिपर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शनिबारमात्र राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका नेता बद्री तिमिल्सनाले चितवनबासीको बिकासको चाहना पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्र पुरा गर्न सक्ने भन्दै प्रचण्डका लागि चितवन आवश्यक नभई चितवनका लागि प्रचण्ड आवश्यक रहेको बताए ।

उनले प्रचण्डका प्रत्यासी बिक्रम पाण्डे विकासप्रेमी हुनै नसक्ने भन्दै ठेकेदारले जनताको सेवा नगरी शोषणमात्र मात्र गर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता देवी ज्ञवालीले अहिलेको आवश्यकता बामपन्थीहरूको बृहत एकता भएको भन्दै यो निर्वाचन मार्फत बामपन्थी एकताको सुरूवात भएको बताए । अध्यक्ष प्रचण्डको जित सुनिश्चित भैसकेको बताउदै ज्ञवालीले चितवन जिल्ला लालकिल्ला बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा तर्फका उम्मेदवारहरू कृष्ण भूर्तेल, रामलाल महतो लगायतका वक्ताहरूले बाम गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका थिए ।