चुनावी अभियानलाई ‘आक्रामक’ बनाउँदै एमाले नेताहरु !

चुनावी अभियानलाई ‘आक्रामक’ बनाउँदै एमाले नेताहरु !


एमालेका नेताहरुले आफ्नो चुनावी अभियानलाई ‘आक्रामक’ बनाउँदै लगेका छन् । यसैक्रममा आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरेका छन् ।

नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।

यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ । निर्वाचन गतिविधिलाई तीव्र बनाएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिहनुभएको स्वकीय सचिव गौतमले बताए ।

यस्तै काठमाडाँै क्षेत्र नं ५ बाट एमाले तर्फबाट उम्मेदवार बनेका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पारेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम शुरु गरेका उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनको निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

यस्तै प्रदेश र प्रतिनिधि सभा चुनावका निम्ति एमाले नेताहरुले विभिन्न जिल्लामा आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेको एमाले मुख्यालयले जनाएको छ ।