खेलकुदमा अस्वाभाविक बाम–एकता कति पाच्य ?

खेलकुदमा अस्वाभाविक बाम–एकता कति पाच्य ?


– श्रीविक्रम भण्डारी

‘हामी नदीका दुई किनारा,
हाम्रो मिलन असम्भव छ… ’

गायक सुदेश शर्माले अढाई दशकअघि गाएको यो गीतमा कति यथार्थपरक छ, त्यो आफ्नो ठाउँमा छ, तर यो गीतलाई अहिले नेकपा एमाले र माओवादी केन्द्रले चाहिँ चुनौंती नै दिएका छन् । कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ उनीहरूले यो जात्रा ‘खेलकुद’मा देखाएका छन् । जुुन आफैमा अपत्यारो, अस्वभाविक र लाजलाग्दो छ । यसर्थमा कि दक्षिणपन्थी र क्रान्तिकारीको मिलन ‘अपवाद’ रुपमा मात्र हुन्छ । भएपनि त्यो धेरै दिन टिक्न सक्तैन, परालको आगो झैं फुस्स हुन्छ । खेलकुदमा भएको नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले पनि यहि संकेत देखाएको छ । जसको आयु कल्पकालिन छ भनेर ठोकुवा गर्न सकिन्छ ।

हो हिजोको समय फरक थियो, त्यतिबेला राजनीतिक दल थिए, उनीहरूको आफ्नै अस्तित्व थियो । तर अहिले राजनितिक दल नै छैनन्, सबै एकअर्काको पोइल गएको अवस्था छ । यसमा नेकपा एमाले र माआवादी केन्द्र अग्रपंक्तिमा देखिएका छन् । आवरणमा पार्टी दुईटा भएपनि उनीको घाँटी जोडिएको छ । घाँटीबाट निस्कने स्वर पनि एउटै भएको छ । यिनीहरु एउटै पार्टी हुन् कि दुईवटा त्यो खुट्याउन समेत यतिबेला राजनितिक विश्लेषकहरूलाई गाह्रो भएको छ । यस्तो अवस्थामा हालै यिनै राजनीतिक दलका खेलकुदका भातृ संगठनले नाइटो जोड्दै संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गर्दै घोषणा गरेपछि खेलकुदमा मात्र नभई राजनितिक वृत्तमा समेत तरङ्ग पैैदा भएको छ ।

हिजोसम्म एकले अर्कालाई फुटेको आँखाले समेत देख्न नसक्ने यी भातृ संगठनको लगनगाँठो कस्सिनु कुुनै हाँस्य–श्रृंखला भन्दा कम छैन । अन्यथा राष्ट्रिय खेलकुद परिषदको परिसरमा साईनबोर्ड राख्दासमेत हानथाप गर्ने र एक अर्काको साइनबोर्ड फाल्ने र व्यानर च्यातच्युत गर्नेहरूको हरकतले पनि यसलाई पुष्टि गर्छ । त्यस्तै परे साँढेजुधाई गर्न पनि पछि नहटेका यी भातृसंगठनले वरिष्ठ–कनिष्ट अनेक तहका नेता गुहारेर खेलकुदको हुर्मत लिएको घटना अहिले पनि ताजै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली हुन् या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हुङ्कार त्यतिबेला चर्चाको विषय बनेको थियो । चुट्किला हाल्न माहिर अध्यक्ष ओलीको शब्दवाण राखेपका पूर्वसदस्यसचिव युवराज लामाको मानसपटलमा ताजै होला । खेलकुदमा माओवादीको ज्यादती बढ्दै गएको र एमालेका कार्यकर्ता त्यसको प्रत्यक्ष निशानामा परेको आरोप लगाउँदै ‘यो अभिनय गर्ने ठाउँ होइन, अभिनय गर्ने भए फिल्म खेल्न जानु’– ओलीले भनेका थिए ।

ओलीको यो कथनबाट लामाले आफ्नो हाइट बढेको अनुभव गरेका थिए । पछि लामाले ओलीले बढाइदिएको हाइटको सदुपयोग गर्दै तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँग चर्को शीतयुद्ध नै गरेका थिए । एमाले र माओवादी केन्द्रबीचकै उक्त युद्धले खेलकुदलाई प्रत्यक्ष रुपमा निकै प्रभाव पारेको थियो । परिणाम, पौडेल र लामाकै घम्साघम्सीका कारण राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक समेत वर्षौंसम्म बस्न सकेको थिएन । यो एमाले र माओवादोबीचको तीतो–मीठो सत्य हो ।

खेलकुद परिसरको चार किल्लामा लाल झण्डा गाडेर एकले अर्कालाई चुनौती दिएका र भिडेका यी भातृसंगठनको चुनावी एकता कति सफल होला त्यो निर्वाचनपछिका दिनले देखाउने छन् । यदि यी भातृ संगठनबीच साँच्चिकै एकता भएको भए एकल आयोजकको रुपमा प्रस्तुत हुन्थे, जुन पार्टीको आधिकार कार्यक्रम पनि बन्थ्यो । तर यहाँ छुट्टाछुट्टै खेलकुद विभाग भएका गुटले यो कार्यक्रम आयोजना गरेका छन् । जसको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए । तस्बिर हेर्दा पनि यो वाम एकता नभै माओवादी केन्द्रको खेलकुद महासंघ र माधव नेपाल गुटबीच भएको सम्झौता हो भन्दा उपयुक्त होला । यो कथित वाम एकता कसरी भयो, त्यसको पर्दाफास गर्नु यहाँनेर त्यति सान्दर्भिक नहोला । यसबारेमा पूर्व खेलकुदमन्त्री पौडेलले जानकारी गराउँदा राम्रो हुने सुझाव दिन सकिन्छ ।

आखिर कुरो जति संगीन भए पनि यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यसलाई सफलताको मूर्तरुप दिन र बाम गठबन्धनको सरकार बनाउन लागिपरेको अवस्था छ । यस्तोमा अहिले दुवै पार्टीका खेलकुदका भातृसंगठनहरूले पनि त्यसमा ऐक्यबद्धता जनाएका छन् । तर हात उठाएर ऐक्यबद्धता जारी गर्नु जति सजिलो छ, इमान्दारीता देखाउनु त्यति नै गाह्रो छ । यस्तो अवस्थामा यी दुई भातृसंगठन कति सफल हुन्छन्, त्यो प्रतीक्षाको विषय बनेको छ । र पनि ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको घोषणा गरिएको छ, जो आफैमा प्रश्नचिह्नको घेरामा परेको छ ।