महोत्तरी-३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्देशन केन्द्रबाट आएको महोत्तरी ३ का कांग्रेस उम्मेदवार बजरंग नेपालीले बताए ।
पार्टी नेतृत्वको निर्देशन लगत्तै महोत्तरी कांग्रेसका नेता तथा कार्यकर्ता भने आक्रोशित भएका छन् । जिल्लाका नेताहरु केन्द्रको निर्देशन लगत्तै पार्टी कार्यालयमा भेला भएका छन् ।
‘उम्मेदवारी फिर्ता भएको छ वा छैन भन्ने विषयमा मलाई पूर्ण जानकारी छैन’, नेपालीले भने, ‘तर, पार्टी नेतृत्वले मलाई टेलिफोन मार्फत उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकेको छ।’
पार्टी सिस्टममा पार्टीको निर्णय स्वीकार गर्न आफू बाध्य भएको समेत नेपालीले बताए । ‘मलाई केन्द्रीय नेतृत्वको फोन आएकै हो । किन यस्तो निर्देशन आयो भन्ने कुरा मलाई थाहा भएन’, नेपालीले भने, ‘राजपा संयोजक महन्थ ठाकुर उम्मेदवार बन्दैमा कांग्रेस डराउनुपर्नै अवस्था भने थिएन।’
प्रतिक्रिया