मुलुकको आर्थिक विकासका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : मन्त्री केसी

मुलुकको आर्थिक विकासका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : मन्त्री केसी


युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले मुलुकको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई विजय गराउनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुने बताए । ‘काँग्रेसको विजयले नै देश विकास सम्भव छ,’ मन्त्री केसीले भने ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० बाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका मन्त्री केसीले पहिलो संविधानसभामा चारवटा कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत संविधान जारी गर्न नसकेको अवस्थालाई मनन गरेर जनताले काँग्रेसलाई विजयी गराउने बताए । उनले देश निर्माणमा काँग्रेसले गरेको योगदानका कारण पनि लोकतान्त्रिक गठबन्धनको बहुमत आउने दाबीसमेत गरे ।

वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं १० मा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता हितमान शाक्यले मुलुकको अस्थिरतालाई फुकाउन वाम गठबन्धन भएको बताए । ‘वाम गठबन्धनले मुलुकलाई स्थिर सरकार दिन सक्छ,” उनले भने ।

राससका अनुसार नेता शाक्यले आफ्नो अनुभव र क्षमताका कारण जनताले आफूलाई विजयी गर्ने दाबी पनि गरे । उनले आफू वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका कारणले आफ्नो पक्षमा परिणाम आउने बताए । ‘मैले राजनीतिक गरेदेखि अहिलेसम्म कसैसँग हारेको छैन, अब पनि हार्दिन,’ उनले भने ।