४५ जिल्लाका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

४५ जिल्लाका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान


दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान गरेको छ ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएकामध्ये मनोनयनपत्र रित पुगेका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट आज निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ७४७ जनाको उम्मेदवारी परेको थियो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त पछिल्लो जानकारीअनुसार उम्मेदवारी दर्ता दिएकामध्ये दुईजनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५८ को उम्मेदवारी फिर्ता भएको जनाइएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवारको अन्तिम विवरण भने आउन बाँकी रहेको आयोगले जनाएको छ ।