बागी उम्मेदवारलाई विधानअनुसार कारबाही गरिने नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले दाबी गरेका छन् । कांग्रेसको विधानबमोजिम आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिनेलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने प्रावधान छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै नेता खाणले बागी उम्मेदवारसँगै प्रस्तावक र समर्थकलाई पनि कारबाही हुने जानकारी दिए । आइतबार मात्रै ५० प्रतिशतभन्दा बढी बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको पनि उनले बताए ।
आगामी मंसिर १० र २१ गतेको निर्वाचनका लागि पार्टीका शीर्ष नेतालाई सात प्रदेशमा नै आमसभामा भाग लिने गरी व्यवस्था मिलाउन लागिएको जानकारी दिँदै खाणले मध्यम स्तरका नेताहरुलाई भने प्रदेश सभा र जिल्लामा खटाइने आफ्नो दलको नीति रहेको प्रस्ट्याए ।
यसैबीच नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको आन्तरिक छलफल र तयारी शुरु गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नातर्फका उम्मेदवारलाई विजयी गराउन बृहत् छलफल शुरु गरेको हो, जुन समितिको संयोजकमा नेता बालकृष्ण खाण रहेका छन् ।
प्रतिक्रिया