लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल

लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल


लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन हुँदा लोकतन्त्र संकटमा पर्ने ठहरसहित नेपाली काँग्रेसको पक्षमा मतदान गर्न झापावासीलाई अपिल गरिएको हो ।

डेमोक्रेटिक लयर एसोसिएसन झापाको समन्वयमा चन्द्रगढीमा सम्पन्न प्राध्यापक, वकिल, निजामती कर्मचारी, पत्रकार, शिक्षक लगायतका पेशागत प्रतिनिधिले नेपाली काँग्रेस पराजित भए लोकतान्त्रिक व्यवस्था संकटमा पर्ने ठहर गरेका हुन् ।

बुद्धिजीवी पेशाकर्मीको संयुक्त भेलाले जनताको सार्वभौम अधिकार अमुक शक्ति निर्माणमा दुरुपयोग भए जनताले नै दुःख पाउने हुँदा सचेत हुन सबैमा अनुरोधसमेत गरेको छ ।

काँग्रेसको घरदैलो कार्यक्रम

यसैगरी नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ ले आसन्न निर्वाचनका लागि घरदैलो अभियान आजदेखि शुरु गरेको छ ।

भद्रपुर, हल्दीबारी र बाह्रदशी गाउँपालिकाका विभिन्न वडाबाट मतदाता भेटघाट तथा चुनाव परिचालन समिति गठन अभियान शुरु गरेको हो ।

प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को (क) ले भद्रपुर–५ बाट मतदाता भेटघाट अभियान थालेको छ भने क्षेत्र नं ३ को (ख) ले साविक राजगढबाट अभियान थालेको हो । राससका अनुसार (क) का प्रत्यासी भूमिप्रसाद राजवंशीले शहर र गाउँबीचको दूरी कम गर्दै समावेशी विकासका लागि मतदान गर्न मतदातासँग अनुरोध गरेका छन् ।

त्यस्तै (ख) का प्रत्यासी भगिरथ पोद्धारले जातीय उत्पीडन र वर्गीय असमानताको अन्त्य गर्दै लोकतन्त्रान्त्रिक राज्य व्यवस्था जनताको अनुभूतिमा ल्याउनका लागि मतदातासँग मतदानका लागि अनुरोध गरेका छन् ।