कोरियाबाट पहिलोपटक प्राईभेट मनि ट्रान्सफर कम्पनीबाट कारोबार शुरु

कोरियाबाट पहिलोपटक प्राईभेट मनि ट्रान्सफर कम्पनीबाट कारोबार शुरु


रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेकाहरूलाई लक्षित गरी ग्लोबल मनि एक्सप्रेस (जीएमई) रेमिट्यान्स कम्पनी सञ्चालनमा ल्याइएको छ । छिटो–छरितो र सहज रूपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको उक्त कम्पनीको उद्घाटन कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले गरेका छन् ।

ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउँदै आएको भए पनि कोरियन सरकारको तर्फबाट कुनै प्राइभेट मनी ट्रान्सफर कम्पनीलाई कोरियामा पहिलो पटक स्वीकृति दिई रेमिट्यान्सको कारोबार गर्ने आधिकारिकता जीएमईले नै हासिल गरेको छ । कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासँगै यसका शाखा तथा अनलाइनबाट सजिलै छिटो–छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ भने उक्त रकम ग्लोबल आइएमई बैंक लि. का नेपालमा रहेका सबै शाखा तथा नेपालभर रहेका सात हजारभन्दा बढि एजेन्टहरू मार्फत १० मिनेटभित्रै प्राप्त गर्न सकिने दाबी समेत गरिएको छ ।

गत १९ गते भएको औपचारिक समुद्घाटन समारोहमा बोल्दै कोरियाका लागि नेपाली राजदुत सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासँगै हाल विभिन्न अनौपचारिक माध्यमबाट नेपाल भित्रिइरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका लि. अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कमर्श इन्डिस्ट्रिजका अध्यक्ष किरणप्रकाश शाखलगायतले कोरियन सरकारले दिएको यस स्वीकृतिपश्चात् अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन मद्दत पुग्ने धारणा राखे ।