नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशासनमा

नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशासनमा


नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन २०७४ कात्तिक १५ गते पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क उठाउँदै आएको छ ।

नगरपालिकाले आफुखुशी मनोमानीरुपमा शुल्क उठाएको भन्दै सोमबार शुल्क उठाउने कार्य रोक्न जिल्ला प्रशासन कार्यलयमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले नगरपालिकाले एकलौटी रुपमा पर्यटन शुल्क उठाउन टेण्डर लगाएको आरोप लगाउनुभयो । वार्षिक चार लाख पर्यटक भित्रने नगरकोटमा निजी कम्पनीलाई रु ५१ लाखमा टेण्डर दिइएको उहाँको भनाइ छ ।

नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाह्य पर्यटकमध्ये सार्क मुलुकका नागरिकसँग प्रतिव्यक्ति रु २०० र अन्य देशकासँग रु ३०० लिने गरी ठेक्का दिएको थियो । व्यवसायीले सो निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अनियमति तवरबाट उठाएको प्रवेश शुल्क रोक्न स्थानीय विकास मन्त्रालयमा पत्राचार गर्ने बताउनुभयो । व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष लामाले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउ गर्ने चेतावनी दिनुभयो ।

अर्का व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाएको आरोप लगाउनुभयो ।

व्यवसायीले पर्यटन शुल्क रोक्न माग गरेपनि नगरप्रमुख सोम मिश्रले आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले निर्णय गरेको बताउँदै आएको व्यवसायीको भनाइ छ ।