जित्ला त गणितमा अगाडि देखिएको वाम गठबन्धनले ?

जित्ला त गणितमा अगाडि देखिएको वाम गठबन्धनले ?


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

गठबन्धनमा धोका नभए स्थानीय तहको परिणामअनुसार सिन्धुपाल्चोकको दुवै प्रतिनिधिसभा र चार प्रदेश सभामा माओवादी केन्द्र र एमाले गठबन्धनका उम्मेदवार अङ्कगणितको हिसाबले अगाडि छन् । विगतका चुनावी मतपरिणामले मतदाता अस्थिर देखाएकाले पनि यो चुनावी परिणाम यसै भन्न सकिने अवस्थामा भने छैन ।

यसअघिका चुनावमा जिल्लामा क्रियाशील दलहरूले हजारौँ मत घटाउने र बढाउने गरिरहेका कारण कुनै पनि उम्मेदवारलाई जित सहज छैन । मङ्सिर १० मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनका कारण अघिल्ला निर्वाचनभन्दा चुनावी सिनारियो बदलिएको छ ।

स्वतन्त्रसहित साना दललाई छाड्ने हो भने जिल्लामा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ । विगतका चुनावी परिणामअनुसार मतदाता अस्थिर रहेकाले अबको नतिजा आफ्नो पक्षमा पार्न दुवै गठबन्धनलाई हम्मे पर्छ । स्थानीय तहको मतपरिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनको मत ४४ हजार ७६ छ भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा वाम गठबन्धनले ४० हजार एक सय ८८ मत पाउँदा लोकतान्त्रिक गठबन्धनले ३० हजार पाँच सय १६ मत प्राप्त गरेको थियो । यो गणितले जिल्लामा वाम गठबन्धन देखिए पनि स्थानीय तहको परिणामको हिसाब गरेर अहिले नहुने भएकाले जित आफ्नो पक्षमा पर्ने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको दाबी छ ।

साना दलबाहेक दुवै गठबन्धनका उम्मेदवारहरू सबैले चुनावी परिणाम आफ्नो पक्षमा हुने बताउँदै आएका छन् । जिल्लाको दुई क्षेत्रका लागि प्रत्यक्षमा स्वतन्त्रसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये दुईमा एक गठबन्धनबीच कसले मार्ला बाजी भन्नेमा कार्यकर्तासमेत अन्योलमा छन् ।
प्रमुख दलको जिल्लामा सङ्गठन मजबुत भएको, उम्मेदवारहरू पनि शक्तिशाली र केन्द्रीय अनुहार भएकाले चुनावी माहोल नै समीकरणमय बनेको हो । जिल्लाको साबिक तीनै क्षेत्रमा यसअघिका निर्वाचनमा दलहरूले अस्थिर मत पाउने गरेकाले यो निर्वाचनको नतिजा यस्तै हुन्छ भन्न सकिने अवस्था नरहेको दलका नेता बताउँछन् । झनै गठबन्धनका कारण कार्यकर्ताले अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्छन् भन्ने नै यकिन नभएकाले पनि चुनावी माहोलको सिनारियो हरेक दिन बदलिएको देखिन्छ ।

साना दललाई छाडेर हेर्ने हो भने क्षेत्र नं. १ बाट माओवादीका प्रवक्तासमेत बनेका पूर्वसूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा, काङ्ग्रेसका केन्द्रीय सदस्य तथा हालका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबीचमै प्रतिस्पर्धा हुन्छ । साबिकको क्षेत्र नं. १ मा अहिले साबिकको क्षेत्र नं. २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा थपिएका छन् । यससँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं. १, २ र ३ नं. वडा पनि अहिलेको प्रतिनिधिसभा १ मा गाँसिएको छ । साबिकको क्षेत्र नं. २ बाट थोरै गाउँ गाभिएकाले साबिक क्षेत्र नं. १ कै मतलाई आधार मान्दा र विगत पल्टाउँदा मतदाता अस्थिर देखिएकाले झन्डै १८ हजार मतान्तरमा अगाडि देखिएको वाम गठबन्धनलाई समेत चुनावी परिणाम आफ्नो पक्षमा पार्न निकै चुनौती छ ।

विगतदेखिको मत परिणाम तुलना गर्ने हो भने साबिक क्षेत्र नं. १ मा विभिन्न पार्टीका उम्मेदवारले जित हासिल गरेका छन् । ६४ को निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ विजयी बनेका थिए । काङ्ग्रेसको बलियो सङ्गठन मानिएको साबिक क्षेत्र नं. १ मा काङ्ग्रेसका उम्मेदवार बस्नेत बलिया प्रतिस्पर्धी हुन् । उनी हालका सूचना तथा सञ्चारमन्त्रीसमेत भएका र चुनाव जित्न विभिन्न ‘ट्याक्टिस’ लगाउने उम्मेदवार भएकाले वामलाई यो चुनाव त्यति सहज छैन ।

७० अघि राप्रपाबाट यो क्षेत्रमा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा लड्दै आएकाले राप्रपाको सङ्गठन पनि मजबुत रहेको मानिन्छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बस्नेतलाई राप्रपाको साथ छ । ७० मा नेकपा एमालेका अरुण पौडेललाई ३२ मतको झिनो अन्तरले बस्नेत विजयी बनेका थिए ।
यो क्षेत्रका राप्रपाका नेता महेन्द्र लामा कार्यकर्ताको लगाव र बलियो सङ्गठन भएकाले लोकतान्त्रिक गठबन्धनले जित्ने दाबी गर्छन् । उता वाम गठबन्धन पनि ७० को झिनो मतअन्तरलाई उल्ट्याउने दाउमा छ । ७० मा चुनावी मैदानमा आएका एमालेका पौडेल अहिले यही क्षेत्रअन्तर्गत प्रदेश सभा १ को उम्मेदवार छन् ।

विगतका चुनावी नतिजा हेर्दा यो क्षेत्रमा काङ्ग्रेस, एमाले र एमाओवादीले नतिजा आफ्नो पक्षमा पारेका छन् । २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहोराले १३ हजार ५ सय मत ल्याएर विजयी बनेका थिए । उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका मोहनबहादुर बस्नेतले ११ हजार ९ सय मत प्राप्त गरेका थिए । ०५१ को निर्वाचनमा एमालेका बोहोरा १३ हजार ३ सय मत ल्याएर विजयी बने । उनले १३ हजार १ सय मत प्राप्त गरेका राप्रपाका राणालाई पराजित गरेका थिए ।

०५६ को निर्वाचनमा नेपाली काङ्ग्रेसका मोहनबहादुर बस्नेतले बाजी मारे । ०५१ मा ७ हजार मत ल्याएको काङ्ग्रेसले ०५६ मा १९ हजार १ सय मत प्राप्त ग¥यो । एमालेका बोहोराले १५ हजार ९ सय र राप्रपाका राणाले १० हजार मत ल्याए । ०५१ को तुलनामा काङ्ग्रेसले १२ हजार र एमालेले तीन हजार मत थप्यो । ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३ सय मतसहित विजयी बने । एमालेले १३ हजार १ सय मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमै चित्त बुझायो भने काङ्ग्रेसले ७ हजार ५ सय मत ल्यायो । अघिल्लोको तुलनामा संविधानसभा निर्वाचनमा काङ्ग्रेसले १२ हजार र एमाले तीन हजार मत घटायो । २०७० मा यो क्षेत्रबाट काङ्ग्रेसले १५ हजार २१ मत ल्याएको थियो । त्यस्तै एमालेले १४ हजार नौ सय ८९, माओवादीले १० हजार तीन सय ३० र राप्रपाले ५ हजार पाँच सय ६७ मत ल्यायो । ६४ को तुलनामा यो क्षेत्रमा काङ्ग्रेसले एक सयभन्दा बढी प्रतिशत मत बढाएको छ ।

साबिकको क्षेत्र नं. १ बाहेकका यो क्षेत्रमा थपिएका साबिक क्षेत्र नं. २ मा पनि मत उस्तै अस्थिर छ । गाभिएका गाउँमा स्थानीय तहको मत परिणाम पनि अस्थिर नै छ । चौतारा साँगाचोकगढी नपा २ मा स्थानीय तहमा राप्रपाले ५ सय २५, एमाले ३ सय ३१, माओवादी २ सय ८४ र काङ्ग्रेसले २७ मत प्राप्त गरेको थियो । त्यस्तै वडा नं. ३ मा एमालेले ५ सय १, माओवादीले ३ सय ३, काङ्ग्रेसले १ सय १५ र राप्रपाले ८ मत पाएको थियो । परिणामअनुसार वडा नं. ४ मा माओवादीले एक हजार ३९, एमालेले ३ सय ५८, काङ्ग्रेसले २ सय ३९ र राप्रपाले ४४ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै नगरपालिकाबाट गाभिएको वडा नं. ९ बाट माओवादीले ६ सय २७, काङ्ग्रेसले ५ सय ५, एमालेले एक सय ८७ र राप्रपाले एक सय ७४ मत पाएका थिए । त्यस्तै, वडा नं. १० बाट एमालेले ५ सय ४८, माओवादीले चार सय ५३, काङ्ग्रेसले दुई सय ३९ र राप्रपाले एक सय ३ मत प्राप्त गरेको कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै जुगल गाउँपालिकाबाट एमालेका प्रमुखले दुई हजार सात सय १८, काङ्ग्रेसका प्रमुख उम्मेदवारले दुई हजार पाँच सय ३७, माओवादीले दुई हजार चार सय ४५ मत प्राप्त गरेका थिए । तथ्याङ्कअनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा गाभिएको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं. १, २ र ३ मा एमालेले १ हजार ६ सय ३७ मत, माओवादीले नौ सय २८, काङ्ग्रेसले ६ सय ८६ र राप्रपाले दुई सय ३८ मत ल्याएको थियो । विगतले एमालेको मत स्थिर देखाउँछ । माओवादी, राप्रपा र काङ्ग्रेसको मत ह्वात्तै बढ्ने र घट्ने गरेकाले पनि अबको चुनावी परिणाम यसै हुन्छ भन्न सकिन्न ।

‘हामी मतले पनि अगाडि छौँ र जितको नजिक छौँ,’ वाम गठबन्धन प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार अग्निप्रसाद सापकोटा भन्छन्, ‘हामी विकासमार्फत समृद्ध सिन्धुपाल्चोक निर्माणमा छौँ र त्यसको खाका पनि हामीसँग भएकाले जनताले वाम गठबन्धनलाई जिताउने पक्का छ ।’

क्षेत्र नं. २ मा पनि लोक र वाम गठबन्धनबीच नै चुनावी स्पर्धा हुँदै छ । यहाँ राप्रपा (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणा र वाम गठबन्धनका तर्फबाट शेरबहादुर तामाङ उम्मेदवार छन् । एमालेका तामाङ ७० मा विजयी भएका नेता हुन् । राप्रपाका राणाले ६४ अघिका चुनाव हारेका थिएनन् ।

अबको निर्वाचनमा नतिजा आफ्नो पक्षमा हुनेमा लोकतान्त्रिक गठबन्धन विश्वस्त छ । पशुपतिलाई काङ्ग्रेसको सहयोग हुनेछ । उम्मेदवार राणा आफैँ स्थानीयदेखि केन्द्रीय तहसम्म पकड भएका नेता भएकाले भोलिको सङ्केत के हुन्छ भनिहाल्न सक्ने स्थिति छैन । ‘विचारका कारण यसपालि मतदाताले लोकतान्त्रिक गठबन्धनलाई चुन्नेछन्,’ काङ्ग्रेसका जिल्ला सभापति विकाश लामा भन्छन्, ‘जिल्लाको विकासमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रचुर गरेका कारण पनि मतदाता उत्साहित छन् ।’ मनोनयन दर्ता गरेदेखि उम्मेदवार राणा गाउँ अभियानमा छन् ।

०४८, ०५१ र ०५६ मा जिल्लाको साबिक क्षेत्र नं. ३ बाट राप्रपाका राणा विजयी बने । ०४८ मा १० हजार १ सय, ०५१ मा ११ हजार ७ सय, ०५६ मा १४ हजार ५ सय मत ल्याएर उनले काङ्ग्रेस र एमालेलाई पछि पारेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा एमाओवादीका दावा तामाङले १४ हजार २ सय मत ल्याएर विजयी बने । एमालेले १४ हजार १ सय मत ल्यायो । राप्रपाले १० हजार र काङ्ग्रेसले ७ हजार २ सय मत प्राप्त गरेका थिए । ०५६ को तुलनामा राप्रपा र काङ्ग्रेसको मत ४ हजारको हाराहारीमा घटेको छ । साबिक क्षेत्र नं. ३ मा २०७० मा एमालेले १४ हजार पाँच सय २७ मत ल्याएको थियो । त्यतिबेला राप्रपाका राणाले १२ हजार ९०, काङ्ग्रेसले ६ हजार पाँच सय ८८ र माओवादीले चार हजार पाँच सय ८४ मत प्राप्त गरेको थियो । साबिक ३ नं. क्षेत्रसँग प्रतिनिधिसभा २ मा साबिक क्षेत्र नं. २ का केही गाउँ थपिएका छन् । इन्द्रावती गाउँपालिका सबै र चौतारा साँगाचोकगढी नपाका ५ वडा थपिएका छन् ।

स्थानीय तहमा इन्द्रावती गाउँपालिकामा काङ्ग्रेसका प्रमुखका उम्मेदवारले पाँच हजार तीन सय ६५, एमालेले पाँच हजार एक सय ६५, माओवादी केन्द्रले दुई हजार पाँच सय ८९ र राप्रपाले आठ सय १० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । त्यसैगरी साबिक क्षेत्र नं. २ मा रहेको चौतारा साँगाचोकगढी नपाका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३ र १४ अहिलेको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. २ मा पर्छ ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ जस्तै २ मा पनि मतदाता अस्थिर देखिएकाले चुनावी परिणाम कसको पक्षमा जान्छ भनेर ठम्याउन कठिन छ । अघिल्ला निर्वाचनको तुलनामा जिल्लामा रहेका प्रमुख चारै पार्टीको मत घट्ने र बढ्ने दर उस्तै छ । दलहरूले हजारौँ मत बढाएको र घटाएको पनि तथ्याङ्कले देखाउँछ । यसैका कारण पनि अङ्कगणितमा अगाडि देखिएको वाम गठबन्धन ढुक्कसँग बस्न सक्ने अवस्था छैन । राप्रपा, काङ्ग्रेसले यसअघि पाएको मतलाई मात्र सुरक्षित गर्न सके पनि वाम गठबन्धनलाई निकै अप्ठ्यारो पर्न सक्ने देखिन्छ ।