शेखर कोइरालामाथि लालाबाबु पण्डितको यस्तो आरोप

शेखर कोइरालामाथि लालाबाबु पण्डितको यस्तो आरोप


एमालेका पोलिटव्युरो सदस्य लालबाबु पण्डितले विराटनगरलाई महानगर बनाउन नदिने काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला भएको आरोप लगाएका छन् । उनले विराटनगरबाँसीको निरन्तरको संघर्षले मात्रै विराटनगर दोस्रो चरणमा महानगर बन्न सफल भएको बताए ।

मंगलबार प्रेस सेन्टर र प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष काँग्रेस केन्द्रिय सदस्य कोइरालाले बाधा हालेर असफल बनाएको बताए ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी पण्डितले आफू मन्त्री हुँदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर काँग्रेस नेता कोइरालाले आपत्ति जनाउँदै महानगर बन्न दिएनन् ।’

कोइराला पनि कांग्रेसको तर्फबाट ६ नम्बर क्षेत्रका प्रतिनिधिसभाका सदस्यका उम्मेदवार हुन् । पण्डित र कोइराला दुबै हेभिबेटका नेता भएकाले चरम प्रतिस्पर्धा हुने देखिएको छ ।

पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविस (हाल बुढीगंगा गाउँपालिका) का जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका साँसद थिए ।

हाल सुन्दरपुर नगरपालिकाका केही वडाहरुसमेत गाभिएर ६ नम्बर बनाएको क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरिरहेका कोइरालाले बुढीगंगा गाउँपालिकालाई अलग्गै नगरपालिका बनाउने आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

तर वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउँपालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुँदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’

उम्मेदवार पण्डितले आफूसँग चुनाव लड्ने पैसा नभएको तर आफ्नै क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । उनले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिँदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउनदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’

नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । उनले भने,‘मलाई मधेशी, पहाडी, मुस्लिम सबैले माया गरेर भोट दिन्छन् । म चार हजार बढी मतले सहजै जित्छु ।’ पण्डितले आफू मधेश अलग्गै हुनुपर्छ भन्नेमा नभई ‘मधेश समृद्ध’ हुनुपर्छ भन्ने पक्षमा रहेको र मधेश आन्दोलनमा घाइते भएकाहरुको उपचारमा आफू पनि सक्रियताका साथ लागेको पनि बताए ।