अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्ष : नेता लेखक

अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्ष : नेता लेखक


नेपाली काँग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय गर्न ऐतिहासिक निर्वाचन हुन लागेको बताएका छन् ।

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित पार्टीको बृहत् चुनावी कार्यकर्ता भेलामा उनले भने, ‘संविधानमा भएको व्यवस्था बदल्छौँ भन्ने अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्षको रुपमा अहिलेको निर्वाचनलाई लिन सकिन्छ ।’

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका नेता लेखकले अहिलेको राष्ट्रिय एजेण्डा संविधानको पूर्ण कार्यान्वयन भएकाले संविधान कार्यान्वयनपछि मात्रै सबै जातजाति, वर्ग, धर्म, संस्कृतिको अधिकार स्थापित हुने बताए । संंघीयताको ग्यारेण्टी गरिएको र समावेशी चरित्रको संविधान बचाउनका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता भएको उनको भनाई छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले एकतन्त्रीय निरंकुश शासन प्रणाली अवलम्बन गर्ने वा समानता, स्वतन्त्रता, समृद्धिको बाटोमा लैजाने चिन्तनमा जाने भन्ने बीचकोे निर्वाचन हुने भएको बताए ।

राससका अनुसार नेता साउदले दुईवटा विशाल सभ्यताबीच हाम्रो देश बसेको छ भन्दै निर्वाचनपछिको शासन प्रणालीले मैत्री भावलाई दिगो र दरिलो बनाउन नसके राष्ट्रियता खतरामा पर्ने धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली काँग्रेसकै प्रयासमा पञ्चेश्वर परियोजनालाई अगाडि बढाई कञ्चनपुरलाई इलेक्ट्रिक सिटीका रुपमा विकास गरिने बताए ।