अब ५० वर्षसम्म काँग्रेस प्रतिपक्षमै हुन्छ : बामदेव गौतम

अब ५० वर्षसम्म काँग्रेस प्रतिपक्षमै हुन्छ : बामदेव गौतम


एमालेका उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं १ का प्रतिनीधिसभा उमेदवार बामदेव गौतमले अबको ५० वर्षसम्म काँग्रेस प्रतिपक्ष भएर बस्ने बताएका छन् । देशको विकास र समृद्धिका लागि जनताको चाहना अनुरुप वाम एकता भएको बताउँदै उनले अबको ५० वर्षसम्म वाम गठबन्धनले देश चलाउँने बताए ।

उनले भने, ‘वाम गठबन्धनस्थिर सरकारको एउटा परिचायक हो । नेपाल वाम गठबन्धनको नेतृत्वमा समृद्धिको बाटोमा अगाडि बढ्छ । हामी छिट्टै नै अरु मुलुकसँग प्रतिस्पर्धामा उत्रन चहान्छौ ।’ बर्दियाको गुलरियामा नगरस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले सो कुरा बताएका हुन् । गौतमले वामपन्थीहरुको स्पष्ट बहुमत हुँदा हुँदै पनि देशमा अस्थिर सरकार चलेकोले नै वाम एकता भएको बताए ।

अबको ५ वर्षमा भारतभन्दा विकसित हुने १० वर्षमा चीन बराबरको आर्थिक समृद्धि गर्ने र ३० वर्षमा स्विजरल्याण्ड बराबरको विकास गर्ने उनले दावी गरे । उनले वाम गठबन्धनका बिरोधीहरु अझै पनि गठबन्धन तोड्ना चाहेको बताए ।

उपाध्यक्ष गौतमले बर्दियाको विकासको जग २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिबाट सुरुवात भएको बताए । उनले बबई सिचाई आयोजना, भेरीबबई डाईभर्सन, कर्णाली पुललगायतका आयोजनाहरु एमाले र माओवादीको सरकारको पालामा सुरु भएको बताए ।

उपाध्यक्ष गौतमले काँग्रेसमा अहिले वाम गठबन्धन हुँदा खेरी नै ८ रेक्टर स्केलको भुकम्प गरेको र वाम गठबन्धनले देश हाक्दा थामिनसक्नुको भुईचालो जाने बताए । उनले गुलरिया नगरपालिकालाई नेपाल कै नमुना नगरको रुपमा विकास गर्ने वाम गठबन्धनको योजना रहेको बताए ।