रुपन्देहीमा डेंगुले महामारीको रूप लिएपछि…

रुपन्देहीमा डेंगुले महामारीको रूप लिएपछि…


रुपन्देहीमा डेंगुले महामारीको रूप लिएको छ । असोजको पहिलो सातादेखि रूपन्देहीमा फाट्टफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रूपमा देखापरेको हो । गत असोज १५ सम्म २५ जनामा देखिएको डेंगुको संक्रमण हिजो सोमबारसम्म ४ सय ५० जनामा पुगेको छ । यसबाट दुई जनाको मृत्यु भइसकेको छ । यसरी महामारीको रुप लिएपछि बुटबल तथा यस वरिपरिका अस्पतालमा स्प्रे गरिने भएको छ । २०६७ सालदेखि डेंगुको संक्रमण देखिएको बुटवलमा यस पटक सबैभन्दा धेरै डेंगु संक्रमण भेटिएको हो ।

रुपन्देहीमा डेंगुले महामारीको रूप लिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा स्वास्थ्यटोली बुटवल आएको छ । बुटबल नगरपालिकामा भएको छलफलमा लामिछानेले डेंगुले प्रकोपको रूप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।

उनले भने– ‘सबैभन्दा महत्वपुर्ण र प्रभावकारी भनेको जनचेतना नै हो ।’ अन्तिम विकल्प स्प्रे भए पनि यो विधि दिर्घकालीन नहुने उनले जानकारी दिए । रुपन्देहीका स्वास्थ्य संस्था नगरपालिकासंग समन्वय गरिएको जनाउँदै लामिछानेले ‘खोज र नष्ट गर’ अभियान अब प्रत्येक घरघर पुग्ने गरी अघि बढाउन जनस्वास्थ्य र स्थानीय तहलाई आग्रह गर्ने बताए । टोलीले तीन दिनसम्म रूपन्देहीमा डेंगुको अवस्थाबारे जाँचबुझ गर्ने उनको भनाई छ ।
बुटवल उपमहानगरका कार्यवाहक प्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै टायरको व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरिन् । बुटबलनगरपालिका र सुरक्षाकर्मीको सहयोगमा टायरलाई जफत गरिने उदघोष पनि उनले गरिन् । टायर नै मुख्य कारक देखिएकोले जफत गर्नुको विकल्प नभएको उनको भनाई थियो ।

डेंगु लागेका बिरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन् । लुम्बिनी अञ्चल अस्पतालका मेसु डा. कृष्ण खनालले अस्पताललाई बिरामीको ब्यबस्थापन गर्ने समस्या भएको बताए । एक बेडमा ३ जनासम्म राखेर उपचार गरेको बताए । ३० देखि ४० जनामा डेंगुको संक्रमण देखापरेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित, बुटवल हस्पिटल प्रालि, तिलोत्तमा हस्पिटल, लुम्बिनी नर्सिङ होम, मेडिटेक हस्पिटल प्रालि, क्रिमसन अस्पताल मणिग्राम डेंगु रोगीले भरिएका बताए । बुटबलमा सबैभन्दा समस्या टायर नै भएको उल्लेख गर्दै सबैको सहयोगमा यो हटाउनु पर्नेमा जोड दिइयो ।

डेगुका बिरामी बढेसंगै दैनिक ५० देखि ६० युनिट रगत डेंगुका बिरामीलाई खपत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । कात्तिकदेखि अहिलेसम्म ६ सय ५५ युनिट रगतको खपत भएको बताइन्छ । अरू बेलामा २०० युनिट मात्र खपत हुँदै आएको रक्तसंञ्चार केन्द्र बुटबलले जनाएको छ । बुटवल ४ सय ५० मध्ये २ सय ५० बुटबलका र अन्य बाहिरका बिरामी रहेका छन् ।

बुटबल उपमानगरपालिकाको १९ वडामध्ये १४ वडामा यो रोग देखिएको छ । दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, प्युठान, बागलुङ र रोल्पाका बिरामीहरूको उपचारमा आईरहेको लुम्बिनी अञ्चल अस्पताल बुटबलले जनाएको छ ।

– चन्द्रकान्त खनाल