झापामा यसकारण चुलियो चुनावी चर्चा

झापामा यसकारण चुलियो चुनावी चर्चा


– रेजिना गौतम

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विषय लिएर झापा चर्चामा छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरू प्रतिष्पर्धामा उत्रिएपछि झापाको चर्चा चुलिएको हो ।

झापामा मुख्य दुई शक्ति प्रतिष्पर्धी देखिएपनि अन्य राजनीतिक दलका उम्मेद्वारहरु पनि मैदानमा छन् । खासगरी चुनावी प्रतिष्पर्धालाई लिएर झापाका ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्र चर्चामा रहेका छन् । चुनावी प्रतिष्पर्धाका हिसाबले प्रतिष्पर्धी देखिएका क्षेत्र नम्बर–१, ३ र ५ हुन् । जहाँ राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव राख्दै आएका उम्मेद्वारहरु प्रतिष्पर्धाको मैदानमा उत्रिएका छन् । यही प्रतिष्पर्धाबाट प्राप्त परिणामले आगामी दिनका लागि नेताहरुको भाग्य भविष्य निक्र्यौल हुने स्थानीय तहमा विश्लेषण हुने गरेको छ ।

बाम गठबन्धन र नेपाली काग्रेसबीच प्रतिस्पर्धा हुने निश्चित छ । झापामा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको बाम गठबन्धनविरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा छ । झापा क्षेत्र नम्वर–१ मा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् । शर्मासँग बाम गठबन्धनका तर्फबाट बामगठबन्धनबाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले प्रतिस्पर्धामा छन् । सो क्षेत्रका स्थानीयवासी नरहेका कार्की निर्वाचनमा उम्मेद्वार बन्न झापाको क्षेत्र नम्बर–१ मा पुगेका हुन् । युवा नेता शर्मा बौद्धिक तथा प्रखरका वक्ताका रुपमा परिचित छन् भने कार्की पनि पार्टीभित्र र बाहिर बौद्धिक नेताका रुपमा चिनिन्छन् ।

माओवादी पार्टीलाई शान्तिको बाटोमा ल्याउने कार्यमा ठूलो भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विरुद्ध क्षेत्र नम्वर–३ मा बाम गठबन्धनले राप्रपा महामन्त्री लिङदेनलाई तीन पार्टीको साझा उम्मेद्वारका रुपमा अघि सारेको छ। लिङ्देनलाई विकासप्रेमी नेताका रुपमा स्थानीयले चिन्ने गरेका छन् ।

झापा क्षेत्र नम्वर–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा उत्रिएका छन् । उनलाई कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारीले चुनौति दिँदैछन् । बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका डा. अधिकारी त्रिविको जागिरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । बामगठबन्धनबाट उम्मेद्वार भएका एमाले अध्यक्ष तथा ओली पूर्वप्रधानमन्त्री समेत हुन् ।

शिर्ष नेताबीचको चुनावी प्रतिष्पर्धाले झापाको चर्चा देशभर हुने गरेको छ । झापा क्षेत्र नम्वर–२ कांग्रेस जिल्ला पार्टी सभापति उद्धव थापासंग एमालेकी महिला नेतृ पवित्रा निरौलालाई चुनावी मैदानमा निरौला पार्टीभित्र प्रखर वक्ताका रुपमा चिनिन्छिन् भने थापा विकासप्रेमी नेताका रुपमा परिचित छन् । यी दुवै ०७० को संविधानसभा निर्वाचनमा निरौला र थापा अलग–अलग क्षेत्रमा पराजित उम्मेद्वार हुन् ।

विकासप्रेम नेताकै रुपमा चिनिएका पार्टीका पूर्व जिल्ला उपसभापति नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्वर–४ देउकुमार थेवेसंग गठबन्धनका तर्फबाट मेनपावर व्यवसायी तथा समाजसेवी एलपी साँवा लिम्वू चुनावी प्रतिस्पर्धामा छन् । यसअघिको चुनावमा साँवा कांग्रेस नेता केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए ।

यस्तो छ स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम

झापा क्षेत्र नं. १
क्षेत्र नम्बर १ लाख ९ हजार ६ सय ७६ मतदाता रहेको यो क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्छन् । गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरूको मतका आधारमा नेपाली कांग्रेसको २५ हजार ५०१ मत देखिन्छ भने एमालेको २५ हजार ६३, माओवादी केन्द्रको ९ हजार ८८८ मत र राप्रपाको १ हजार ३३३ र संघीय समाजवादी फोरमको ४७० मत छ । यस आधार मान्दा एमाले र माओवादीको बाम गठबन्धनको ३४ हजार ९५१ मत देखिन्छ । जुन कांग्र्रेसले पाएको मतभन्दा ९ हजार ४५० बढी हो । क्षेत्र नम्बर–१ मा जम्मा विभिन्न दलका कुल सात जना चुनावी मैदानमा छन् ।


क्षेत्र नं २

क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्छन् भने यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्छन् । त्यस्तै कन्काई नगरपालिकाका वडा नं. ८ र ९ समेटिएको यो क्षेत्रमा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।स्थानीय तहमा यो क्षेत्रमा नेपाली कांग्रेसको २२ हजार ५८५ मत देखिन्छ भने एमालेको २८ हजार ७२४, माओवादी केन्द्रको ७ हजार ५०३, राप्रपाको ४ हजार ९४०, फोरम लोकतान्त्रिकको ५० र संघीय समाजवादी फोरमको ४३१ मत छ । यहाँ बाम गठबन्धन भन्दा कांग्रेस १३ हजार ६४१ मतले पछाडि छ । गठबन्धनको ३६ हजार २२७ देखिन्छ । यहाँ राप्रपाको सरदर ५ हजार मत रहेको छ ।


क्षेत्र नं. ३

बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा तथा विर्तामोड नगरपालिकाको वडा नं. १० समेटिएको यो निर्वाचन क्षेत्रमा १ लाख १४ हजार ५८६ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ पनि कांग्रेसको भन्दा बामगठबन्धनको मत बढी रहेको छ । झापा ३ मा नेपाली कांग्रेसले २० हजार ५४५, नेकपा एमालेले १९ हजार ८८०, माओवादी केन्द्रले ९ हजार ५८८, राप्रपाले १४ हजार १०५, फोरम लोकतान्त्रिकले २०५ र संघीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।

बाम गठबन्धन र राप्रपाको मत मिसाउँदा ४३ हजार ५७३ हुन्छ । जुन नेपाली कांग्रेसले पाएको मतभन्दा २३ हजार २८ मत बढी हो ।

क्षेत्र नं. ४
४ नम्बर क्षेत्रमा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज गाउँपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्छन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४०१ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा लगभग नेपाली कांग्रेसको २२ हजार ९२९, एमालेको २६ हजार ४१४, माओवादी केन्द्रको ९ हजार ६९९, राप्रपाको १९४२, फोरम लोकतान्त्रिकको ६३९ र संघीय समाजवादी फोरमको १२९ मत रहेको छ ।

यस आधारमा यहाँ कांग्रेस र गठबन्धनबीच १४ हजार ४८७ मतको अन्तरले कांग्रेस पछाडि छ। यहाँ बाम गठबन्धनसहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५६८ हुन्छ ।

क्षेत्र नं. ५
यो क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५६२ मतदाता छन् ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको एमालेको २९ हजार ४६०, माओवादी केन्द्रको १३ हजार ५८३, राप्रपाको १० हजार २२२ मत थियो भने नेपाली कांग्रेसको २३ हजार २५०, नेकपा फोरम लोकतान्त्रिकको ११ सय ९४ र संघीय समाजवादी फोरम लोकतान्त्रिकको १०३४ मत रहेको छ ।

यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४४४ हुन्छ । यहाँ कांग्रेसको भन्दा बामगठबन्धनको २८ हजार ८२४ मत बढी रहेको छ ।