शेरबहादुरद्वारा आफ्नै नेताहरूलाई धम्की

शेरबहादुरद्वारा आफ्नै नेताहरूलाई धम्की


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदमा आसीन रहिरहनका निम्ति अब आफ्नै पार्टीका नेताहरूलाई समेत घुर्की र धम्की दिन थाल्नुभएको छ । राप्रपासँगको गठबन्धन सकेसम्म नबिथोलियोस् भन्ने काङ्ग्रेस नेतृत्वको भावना रहेको कारण राप्रपा आफ्नो बढोत्तरी खोज्दै जाने र देउवाले राप्रपाको माग पूरा गर्दै जाने हो भने काङ्ग्रेसको साङ्गठनिक प्रभावलाई मुलुकव्यापी रूपमा नकारात्मक असर पर्ने कुराले यतिबेला काङ्ग्रेसभित्र छटपटी सुरु भएको छ । शेरबहादुर देउवाको सरकार ढल्नेबित्तिकै काङ्ग्रेस विपक्षमा बस्नुपर्ने र एमालेलाई सत्ता सुम्पिनुपर्ने स्थिति भएको कारणले काङ्ग्रेसको वर्तमान नेतृत्व ‘नहुने मामाभन्दा कानो मामा जाती’ भन्ने निष्कर्ष निकालेर वर्तमान सरकारलाई निरन्तरता दिन बाध्य छ । देउवा आफ्नो पार्टीको नेतृत्वमा रहेको यही सोचका कारण यतिबेला राप्रपाबाट मात्र आफूमाथि खतरा हुन सक्ने ठहर गर्दै राप्रपाले मागेका प्रधानमन्त्री पदबाहेक सबै माग पूरा गरेर भए पनि अफूलाई जोगाउने कोसिसमा लाग्नुभएको छ ।

तर, अब काङ्ग्रेसभित्र देउवालाई जोगाउँदैमा काङ्ग्रेस नजोगिने भयो भन्ने टिप्पणीहरू सुन्न थालिएको छ । देउवाले काङ्ग्रेसका कार्यकर्ता एवम् नेतृत्वसितको सम्बन्ध र जीवित सम्पर्क त करिब–करिब तोडिसक्नुभएको छ । आफ्नै मन्त्रिमण्डलका कतिपय सदस्य (काङ्ग्रेसतर्फका) हरूसित संवाद नगर्नुभएको पनि तीन महिना बितिसकेको छ । मन्त्रिमण्डलको बैठकमा पनि उहाँ धेरैजसो राप्रपाका मन्त्रीहरूसितको एकान्त वार्तामा नै बिताउने गर्नुहुन्छ । मन्त्रिमण्डलले लिने निर्णयहरूमा उहाँले मुलुक, प्रजातन्त्र र काङ्ग्रेसभन्दा पनि राप्रपाका नेताहरूको मन नदुखोस् भन्नेतर्फ सचेत हुँदै आफ्नो निर्णयात्मक मत दिन थाल्नुभएको पनि धेरै भइसकेको छ ।

देउवाको कमजोर नेतृत्व र ‘हल्काफुल्का’ कार्यशैलीका कारण राप्रपाले उत्साहजनक साथ उहाँलाई दिइरहेको छ भने काङ्ग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू उहाँसँग संवादविहीन अवस्थामा रहेका कारण टाढिँदै जान थालेका छन् । कुनै पनि दिन काङ्ग्रेसकै कुनै मन्त्रीले विद्रोह गर्दै आफ्नो पदबाट राजीनामा दिए पनि अब आश्चर्य मान्नु नपर्ने भएको छ ।

यसअघि जेठको पहिलो सातामा मन्त्रिमण्डल विस्तारको घोषणा गरिँदा पनि देउवाले पार्टीको अनुमति लिनुभएको थिएन भने यसै साता राप्रपाका सहायक र राज्यमन्त्रीहरूको बढुवा पनि पार्टीको अनुमति नलिईकन नै गर्नुभएको छ । यसपटक देउवालाई नेपाली काङ्ग्रेसले अनुमति नदिएको मात्र नभई राप्रपाका सहायक र राज्यमन्त्रीहरूलाई बढुवा नगर्न कडा निर्देशन दिएको बुझिएको छ ।

बढुवाको नतिजा प्रकाशित गर्ने दिन अर्थात् गत सोमबार बिहान ८ बजे कोपुण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासस्थानमा सभापति गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र देउवाबीच लामो छलफल भई बढुवा गर्ने कुरामा सहमति भइसकेको र कोइराला पुग्नुभएपछि उहाँलाई बढुवा गर्ने सहमति भएको निर्णय सुनाइयो । भट्टराईको अत्यन्त निकटवर्ती सूत्रले जनाएअनुसार सभापति कोइरालाले उक्त कुराको कडा विरोध गर्नुभएको र कदापि त्यस किसिमको गल्ती नगर्न निर्देशन दिनुभयो । त्यसको प्रक्रियास्वरूप देउवाले भन्नुभयो, ‘मैले गत चैतमा अविश्वासको प्रस्ताव आएको बेला यो बढुवाको वचन राप्रपालाई दिइसकेको थिएँ, मैले ‘कमिट’ गरिसकेको हुनाले राप्रपाका ती व्यक्तिहरूलाई बढुवा गर्न आवश्यक छ । यदि मैले यसरी काम गर्न नपाइने हो भने म अहिल्यै राजीनामा गरिहाल्छु, त्यसपछि जे गर्नुपर्छ तपार्इंहरू नै गर्नुहोस् ।’ त्यसपछि केही बेरसम्म छलफल चल्यो । देउवा आफ्नो अडानबाट डेग चल्नुभएन ।

तत्पश्चात् सभापति गिरिजाप्रसाद कोइरालाले ‘यस्तो गर्दै जाने हो भने काङ्ग्रेसलाई त कमजोर पार्छ–पार्छ, प्रजातन्त्र र प्रजातान्त्रिक संस्कारलाई समेत कमजोर तुल्याउँछ’ भन्दै बैठक कक्षबाट निस्कनुभएको कुरा भट्टराईको निकटस्थ सूत्रबाट थाहा भएको छ । कोइराला त्यहाँबाट हिँड्नुभएपछि पनि देउवा र भट्टराईका बीच लामै छलफल चल्यो । उहाँहरूका बीचमा ‘बढुवा गर्ने’ कुरामा सहमति भएपछि देउवा पनि त्यहाँबाट निस्कनुभयो । तर, पछि भट्टराईले बढुवाप्रति आफ्नो असहमति रहेको भनी एक अखबारमा दिनुभएको प्रतिक्रियाले देउवालाई चकित तुल्याएको छ । देउवासँग सम्बन्धित सूत्रले जनाएअनुसार नेताहरूद्वारा व्यक्त विचारले उहाँलाई क्रूद्ध तुल्याएको छ र कुनै पनि दिन अप्रत्यासित रूपले राजीनामा गरेर नेताहरूलाई अप्ठ्यारोमा पारिदिने विचार व्यक्त गर्नुभएको छ ।

(घटना र विचार, २०५३ जेठ ३० गते)