यस्तो छ सेनाको ‘चुनावी-आकलन’को यथार्थ

यस्तो छ सेनाको ‘चुनावी-आकलन’को यथार्थ


वाम–गठबन्धनपछि तरङ्गित मुलुकको राजनीति चढ्दो चुनावी रौनकबीच थप तातिँदै छ । कम्युनिस्टहरूको चुनावी एकताका कारण निर्वाचनको परिणाम पनि विष्मयकारी हुन सक्ने आँकलन गरिएका छन् । ज्यादाजसो राजनीतिक विश्लेषकहरूले आगामी निर्वाचनले वाम–गठबन्धनलाई भारी जित दिलाउने र त्यस अवस्थामा स्वभावतः नेपाली काङ्ग्रेसले निकै ठूलो क्षति व्यहोर्नुपर्ने आँकलन गरिआएका छन् ।

यसै परिप्रेक्ष्यमा गत साता बिही र शुक्रबार राजधानीमा आयोजित नेपाली सेनाका प्रितनापतिहरूको सम्मेलनमा पनि यही विषयले प्रमुखता पाएको बुझिएको छ । बताइएअनुसार सम्मेलनमा सहभागी प्रितनापतिहरूले आ–आफ्नो क्षेत्रको राजनीतिक र सुरक्षाको स्थितिबारे विवरण प्रस्तुत गरेका थिए । अधिकांशको रिपोर्टमा आउँदो निर्वाचनको परिणाम कम्युनिस्टको पक्षमा जान सक्ने उल्लेख रहेको बताइन्छ । जब कि यसअघि तिहारको पूर्वसन्ध्यामा सेनाका केही उच्च अधिकारीहरूबाट प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष कम्युनिस्ट गठबन्धनले काङ्ग्रेसलाई खासै प्रतिकूल असर नपार्ने ‘फिडब्याक’ दिएको थियो ।

तथापि, प्रितनापतिहरूको सम्मेलनमा वामपन्थीको पक्षमा चुनावी परिणाम जाने सम्भावना रहेको प्रतिवेदन पेस गरिएको समाचार यथार्थ नभएको नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नैनराज दाहालले बताउनुभयो । सरकारले अह्राएबमोजिम मतपत्र छपाइ, त्यसको ढुवानीलगायत कार्यमा सेनाले सुरक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले मतदानको बेला सुरक्षाको दृष्टिबाट आइपर्न सक्ने समस्याहरूसँग कसरी फेस गर्ने भन्नेबारे फिल्डमा खटिने सैनिकलाई प्रशिक्षित तुल्याउने कार्य यतिबेला भइरहेको जानकारी दिनुभयो । चुनावको परिणाम कसको पक्षमा जान्छ भन्ने कुरा सेनाको सरोकारको विषय नभएकाले यसबारे नेपाली सेनाले कुनै अभ्यास नगरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘केही अनलाइनले मनगढन्ते समाचार प्रकाशित गरेर सेनालाई विवादमा तान्ने प्रयास गरेका छन्, नेपाली सेना यस्ता भ्रमात्मक समाचारको खण्डन गर्दछ ।’

यसैबीच केही अनलाइन सञ्चारमाध्यममा नेपालको वर्तमान राजनीतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी सम्प्रेषण गरिएका समाचारप्रति नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना नेपालको संविधानप्रति सदा प्रतिबद्ध, देश र जनताप्रति समर्पित, इमानदार, वफादार तथा गैरराजनीतिक, व्यवसायिक, सैनिक सङ्गठनको रूपमा इतिहास कालदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । हालै केही अनलाइन सञ्चारमाध्यमले वर्तमान राजनीतिक विषयवस्तुसँग जोडी नेपाली सेनाको विशुद्ध व्यावसायिक तथा ऐतिहासिक छविमा नै आँच पुग्ने गरी सम्प्रेषण गरेका समाचारहरू निराधार तथा तथ्यहीन भएको व्यहोरा स्पष्ट गर्दै यस प्रकारको समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।