नारायणकाजीले घरदैलो गर्न सकेनन्

नारायणकाजीले घरदैलो गर्न सकेनन्


पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने निर्वाचनमा गोरखा–२ का लागि वाम गठवन्धनका उम्मेदवार माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव प्रचारका क्रममा लडेर घाइते भएपछि घरदैलो गर्न सकेका छैनन् ।

मंगलवार गोरखाको सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर फर्किँदा श्रेष्ठ लडेर घाइते भएका हुन् । सभास्थलमा लगाइएको डोरीमा अल्झेर उनी घाइते भएका हुन् ।

माओवादी केन्द्रका गोरखाका एक नेताका अनुसार उनको निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको छ । खुट्टामा चोट लागेपछि नेता श्रेष्ठ घरदैलो गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

वाम गठवन्धनले बुधवार गोरखाको बारपाकामा चुनावी घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठ घाइते भएपछि बुधवारको घरदैलो कार्यक्रम स्थगित गरिएको जनाइएको छ । यद्यपी चुनावी कार्यक्रममा भने नेता श्रेष्ठ गाडी चढेर पुगेका छन् ।

पैदलै हिँडेर घरदैलो गर्ने तयारी रहेपनि श्रेष्ठ घाइते भएकाले उक्त कार्यक्रम तत्काललाई स्थगित गरिएको चुनाव परिचालन समितिका एक सदस्यले बताए ।