धितो जमानीमा भूकम्पपीडितले निर्ब्याजी ऋण पाउने

धितो जमानीमा भूकम्पपीडितले निर्ब्याजी ऋण पाउने


धितो जमानीमा भूकम्प पीडितले निब्याजी ऋण पाउने भएका छन् । गत २०७२ को बिनासकारी भूकम्पको कारण भत्किएका घर बनाउन सामुहिक जमान वा धितो जमानीमा पनि निब्याजी ऋण सरकारले दिने भएको हो ।

पीडितलाई निब्र्याजी ऋण दिने भनिए पनि कसरी दिने भन्ने स्पष्ट नभएका कारण कार्यान्वयन हुन नसकेको बेला राष्ट्र बैंकले कात्तिक हालैमात्र सो सम्बन्धि कार्यविधि सार्बजनिक गरेपछि सहज भएको छ ।

पीडितले घर बनाउनको लागि आफूसँग धितो भए धितो राखेर र नभए सामुहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण लिँदा कुनै ब्याज वा शुल्क तिर्नु पर्दैन ।

‘धितो भएकाहरुले धितो जमानीमा र नभएकाले सामुहिक जमानीमा लिएको ३ लाख रुपैयाँसम्मको ब्याज वा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन, ३ देखि ५ बर्षभित्रमा यस्तो ऋण तिरे हुने ब्यवस्था गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

यस्तो कर्जा लिनको लागि राष्ट्र बैंकले केही शर्तहरु भने तोकेको छ । भूकम्प पीडित आवाशीय कर्जा लिनको लागि ऋणी तथा उसको परिवारमा बस्न योग्य आवाशीय घर नभएको र नेपाल सरकारले जारी गरेको भूकम्प पीडित परिचयपत्र भने हुनुपर्नेछ ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले ऋणीसँग कुनै पनि प्रकारको ब्याज वा शुल्क लिन पाउने छैनन् । यस्तो ऋण दिदा लाग्ने खर्च सरकारले ब्यहोर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामामा संचालन लागतको २ प्रतिशत विन्दु थप गरी सरकारबाट पैसा लिनेछन् ।

कर्जाको ब्याज, बीमा तथा सुरक्षण शुल्क वापतको रकम नेपाल राष्ट्र बैंकमा खडा गरिएको कोषबाट ३÷३ महिनामा सम्बन्धित बैंकहरुले पाउनेछन् ।