१० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने

१० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने


पहाडी जिल्ला लमजुङमा यसबर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यलय लमजुङले जनाएको छ । समयमा बर्षा भएकाले अघिल्लो बर्षहरुको तुलनामा यसबर्ष धान उत्पादनमा बृद्धि हुने भएको हो ।

कार्यलयका अनुसार यसवर्ष १५ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । जसमा वर्षे धान १४ हजार २ सय ४ हेक्टर क्षेत्रफलमा लगाइएको छ भने ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

जिल्लामा गत वर्ष भने १५ हजार ८ सय ४ हेक्टर क्षेत्रफलमा धान लगाइएको बताइएको छ । जसबाट ३.२ मेट्रीकटन धान उत्पादन भएको थियो । अहिले समयमा पानी परेकोले धान उत्पादनमा वृद्धि हुने अधिकारीको भनाई छ ।

जिल्लामा आधुनिक कृषि प्रणालीका सामाग्री प्रयोग गरीएको र रासायनिक मलको समेत अभाव नभएकाले धान उत्पादनमा वृद्धि हुने बताइएको छ ।

गत बर्षभन्दा यसवर्ष ४ सय हेक्टर कम क्षेत्रफलमा धान रोपिएको छ । पछिल्लो समय खेतीयोग्य जमिनमा अलैची, उन्नत जातको केरा रोपीएका कारण गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपिएको कार्यलयले जनाएको छ ।

जिल्लामा हाल राम धान, लोकतन्त्र, मकवानपुर, सुनौलो सुगन्ध, सुखा एक सुखा दुई, सुखा तीन, सुखा चार, सुखा पाँच, पोखरेली, सावित्री, राधा ४, लगायतका उन्नत जातका धान लगाइने गरेको कार्यलयले जनाएको छ ।

पछिल्लो समयमा राम्रो उत्पादनका लागी किसानहरुले उन्नत जातको धान लगाउन किसानहरु आर्कर्षित भएको कार्यलयले जनाएको छ ।

जिल्लाका धान खेतीका लागि प्रख्यात फाँटहरु चक्रतीर्थ, भलायखर्क, धमिकुवा, चिती, तार्कुघाट, भोर्लेटार, भोटेवडार, सुन्दरवजार लगायतका क्षेत्रमा धान उत्पादनमा वृद्धि हुने बताईएको छ ।