नेपाली कांग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी आरजू राणा देउवाले चुनाव प्रचारका लागि धनगढीमा नयाँ घर नै खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवारु भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर खरिद गरेको बताइएको छ ।
तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको बतायएको छ तर यसको औपचारिक पुष्टि भने भएको छैन । श्रोतले भन्यो ‘यति मात्र होइन, उहाँ बुधवारदेखि नै नयाँ घरमा बस्न पनि थालेकी छन् ।’ श्रोतका अनुसार स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर लगभग ३ करोडमा खरिद गरिएको हो । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।’
घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् । आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताउँदै आएकी थिइन् ।
धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेको क्षेत्रसमेत हो । देउवा त्यस बेला डडेलधुरा र तत्कालीन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । यसपटक कैलालीमा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन् ।
नयाँ किनिएको उक्त याँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् । उनको घर मुख्य बजार र पक्की सडकबाट झन्डै तीन सय मिटर आवासीय क्षेत्रमा पर्छ । त्यहाँ जानका लागि तीन सय मिटरजति कच्ची सडक हिँड्नुपर्छ ।
तर, बुधबारदखि नै मुख्य सडकबाट उत्तरतिरको सडकमा ग्राभेल हालेर पक्की बनाउने तयारी थालेको स्थानीयले बताएका छन् । उक्त सडकको एउटा खण्ड अहिले सघन शहरी विकास आयोजनाबाट पक्कि हुने टेन्टरमा परेको छ । असारमै ठेक्का भएको सडक आरजुले घर किन्ने वित्तिकै पक्की हुन सुरु भएको स्थानीयले बताएका छन् ।
तस्विर सौजन्य : अन्नपुर्ण पोष्ट
प्रतिक्रिया