चिनीको मूल्य बढाउन ‘चलखेल’ !

चिनीको मूल्य बढाउन ‘चलखेल’ !


चुनावी मुखमा चिनीको मूल्य बढाउन चलखेल भएको पाइएको छ ।  कृषि विकास मन्त्रालयले उत्पादकको स्वार्थ अनुकुल विदेशबाट आयात गरिने चिनीमा ५० प्रतिशत भन्सार महसुल लगाउन हालै सिफारिश गरेसँगै चिनीको मूल्य बढाउन चलखेल भएको खुलाशा भएको हो ।

चिनी उत्पादक संघको स्वार्थमा मन्त्रालयले भन्सार दर ५० प्रतिशत लगाउन अर्थ, उद्योग,आपूर्ति र वाणिज्य मन्त्रालयमा सिफारिश गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय गरिएको भन्दै सहसचिव सुरेशबाबु तिवारीले गत कात्तिक १५ गते पत्र लेख्दै भन्सार दर पचास प्रतिशत पुर्याउन सिफारिश गरिएको छ ।

पत्रमा नेपाल चिनी उद्योग संघले चिनीको आयात महसुल कम्तीमा ५० प्रतिशत पुयाइनुपर्ने भनी गरेको माग जायज देखिएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएको र यसले गर्दा स्वदेशी चिनी उद्योग प्रतिस्पर्धा गर्न नसकी धराशायी हुने अवस्था रहेको पत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा उच्च गिरावट आएपछि संघले आयातमा भन्सार दर बढाउन मन्त्रालयलाई दबाब दि“दै आएको थियो ।  अहिले तेस्रो मुलुकबाट १५ प्रतिशत भन्सार र भ्याट तिरेर नेपालमा चिनी आयात भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा घटाउनुको सट्टा उत्पादकले पूरानै मूल्यमा चिनी बिक्री गरिरहेका छन् ।

अझ आयातकर्ताका अनुसार आन्तरिक बजारमा उत्पादित चिनी असारमै सकिसकेको छ । भदौंबाट मात्रै भारत र तेस्रो मुलुकबाट चिनी आयात हुन थालेको हो । केही ठूला चिनी उत्पादकले महँगो मूल्यमा बिक्री गर्ने भन्दै भण्डारण गरेर राखेका थिए ।

त्यही उत्पादकलाई पक्षपोषण गर्न र उपभोक्तालाई महँगो मूल्यमा चिनी बिक्री गर्न भन्सार दर बढाउन मन्त्रालयले सिफारिश गरेको स्रोतले बतायो । नेपाल उद्योग वाणिज्य महासंघका एक केन्द्रीय सदस्यले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेका कारण व्यवसायीले तेस्रो मुलुकबाट आयात गर्न थालेको बताए ।

उद्योगीहरुले कानुनी रूपमा आयात गरिएको चिनीमा चर्को महसुल लगाएर महँगो पारियो भने भारतबाट अवैध पैठारी बढ्ने र राजस्वमा ह्रास आउने समेत दाबी गरेका छन् ।