महामन्त्रीमा सिटौला :कोइरालाको चाहना कि बाध्यता ?

महामन्त्रीमा सिटौला :कोइरालाको चाहना कि बाध्यता ?


-वसन्तराज कुँवर
काङ्ग्रेस सभापति सुशील कोइरालाले पार्टी महामन्त्रीमा कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गर्नेबित्तिकै त्यस पार्टीभित्र रडाको मच्चिएको छ । जबजब सिटौलाजीको नाम कतै आउँछ मानिसहरू त्यसै नाक खुम्च्याउँछन् । चाहे कर्मचारीतन्त्रमा होस् चाहे व्यापारिक माहौलमा होस्, चाहे राजनीतिकवृत्तमा होस्, सिटौला एक अलोकप्रिय र मन नपर्ने व्यक्तिका रूपमा चर्चित छन् । यी व्यक्तिलाई कसैले विदेशी जासुस र कसैले नामुद भ्रष्टाचारी भनेर पनि चिन्ने गर्दछन् । यति धेरै अलोकप्रिय व्यक्ति भएर पनि यी कोइराला खेमाभित्र टाँस्सिएर आफ्नो अस्तित्व बचाउन सफल देखिन्छन् । गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मको भित्रिया भई आफूलाई स्थापित गर्न सक्नुचाहिँ सिटौलाको खुवी नै मान्नर्ुपर्छ । तर, यो खुवीले नेपाल र नेपालीको जीवन माथि उठाउन भने कुनै भूमिका खेल्ने छैन । सिटौला र मुलुकको विकास दुई विपरीत ध्रुव समान हुन् भन्दा फरक पर्दैन । सिटौला स्वयम्लाई पनि यो हेक्का छ कि सिटौलाको राजनीतिक धरातल भनेकै कोइराला परिवारसँग टाँस्सिएर अड्न सक्ने क्षमता मात्र हो ।
म हालै कामको सिलसिलामा झापा पुगेको थिएँ । त्यहाँ मैले सिटौलाले गरेको कुनै पनि असल काम देख्न र सुन्न पाइनँ । उनलाई सम्झन मद्दत गर्ने कुनै पनि विकासका काम त्यहाँ भएका छैनन् । प्रत्येक काङ्ग्रेसी कार्यकर्तासँग कुरा गर्दा सिटौलालाई पार्टीको अभिशाप भन्ने गर्दा रहेछन् । यति धेरै अलोकप्रिय भएर पनि ती व्यक्ति केन्द्रीय सदस्य मात्र होइन महामन्त्रीको दाबेदारसमेत हुन सफल भए । हर्ेदा सुशील कोइरालाले सिटौलालाई महामन्त्री बनाए भन्ने धेरैलाई लाग्दछ तर मलाई भने के लाग्छ कि सुशीलले सिटौलालाई बनाएका होइनन् बरु सिटौलाले सुशीललाई आफ्नो नाम प्रस्ताव गराउन बाध्य बनाएका हुन् ।
धेरैलाई यो कुरा थाहा छ र छापाहरूमा पनि आइरहेकै कुरा हो, कि सिटौला पूर्णतया विदेशीद्वारा सञ्चालित व्यक्ति हुन् । माओवादीलाई छिमेकी भारतमा शरण दिएर नेपालमा राजतन्त्र खत्तम गर्ने वा राजतन्त्रलाई वशमा पार्ने बाह्य रणनीतिमा सुरुसुरुमा अन्य राजनीतिक पार्टीहरूको सहमति थिएन । राजसंस्था पनि आवश्यक छ भन्ने पार्टीहरूको धारणा थियो । राजसंस्था चाहिन्छ भन्नेमा मुख्य रूपमा यी तर्कहरू थिए । राजासँग सेना भएको हुँदा सेनालाई रिस उठाएर राजनीतिक दलहरू नेपालमा बाँच्न सक्तैनन् भन्ने पहिलो धारणा थियो भने दोस्रो राजसंस्था आफंै पनि लामो इतिहास बोकेर जनताबीच मनमा रहेको संस्था भएको र यस संस्थाको पनि अन्तर्राष्ट्रियस्तरमै पहिचान भएको हुँदा त्यस उचाइका राजनीतिक नेता यहाँ थिएनन् । अमेरिकाले नेपालमा कम्युनिस्ट भित्रिन नदिन राजसंस्था हुनु नै ठीक ठानेको थियो । प्रजातान्त्रिक गठबन्धनलाई माथि ल्याउन नसकेको अवस्थामा बरु राजसंस्थालाई नै टिकाएर राख्नु उचित हुने उनीहरूले निष्कर्ष निकालेका थिए भने भारतले पनि राजालाई दबाएर राख्ने मानसिकता बनाए पनि चीनको प्रभावबाट जोगाउन यो संस्थालाई जरैबाट उखेल्न हुँदैन भन्ने भित्री मनसायमा राखेको थियो । यिनै कुराहरूले नेपालमा राजसंस्थालाई अडाउन महत्त्वपूर्ण भूमिका निभाएको थियो ।
पछिल्लो समयमा भारतलाई हेर्ने दृष्टिकोणमा राजाहरूले परिवर्तन ल्याउनर्ुपर्दथ्यो तर राजसंस्थाले प्रजातन्त्रलाई नै दुश्मन ठानेका र भारतले प्रजातन्त्रमार्फत आफूलाई कमजोर बनाउन प्रयास गरेको विश्वास लिएका कारण भारतसँग खुलेर सम्बन्ध गाँस्न सकेनन् । वीरेन्द्रको शासनकालमा नाकाबन्दी लगाएको भारतलेे ज्ञानेन्द्रको पालामा आइपुग्दा राजसंस्था नै फाल्ने मन बनायो । भारतले चाहेर मात्र पनि राजसंस्था जाने थिएन तर ज्ञानेन्द्रले नेपालभित्रका नेपालीकै पनि मन जित्न सकेनन् । मुखले जे भने पनि भारतले नेपालमा स्थिरता चाहेको प्रमाण उनका काम र व्यवहारहरूबाट देखिएको छैन ।
राजा हटाउन चाहनेहरूले माओवादीको प्रयोग मात्र काफी नभएपछि सम्पूर्ण दलहरूलाई पनि एक ठाउँमा ल्याउनुपर्ने भयो । यही रणनीतिअर्न्तर्गत १२ बुँदे समझदारी हुन पुग्यो र कुनै प्रकारले राजसंस्था चाहिन्छ भन्ने दलहरू पनि राजसंस्थाको विरोधमा उभिन पुगे । राजसंस्थाको विरोधमा गिपरिजाप्रसाद कोइराला लाग्नुमा नीतिगत कारणभन्दा पनि उनलाई ज्ञानेन्द्रले सत्तामा आउनेबित्तिकै घरमै कैद गरेको व्यक्तिगत कारण बढी थियो । यही व्यक्तिगत कारणले गिरिजा कोइरालासमेत गणतन्त्रको पक्षमा लाग्न थाले । काङ्ग्रेसमा कोइराला परिवार भारतबाट नै प्रशिक्षित र स्थापित भएका हुँदा तिनैलाई प्रयोग गर्नु सुलभ ठानियो । १२ बुँदे समझदारी गर्ने समयमा गिरिजा कोइराला सीधै माओवादीसँग सर्म्पर्क गर्न सक्थेनन् । उनलाई दूतको आवश्यकता थियो । सिटौलाले त्यस समय दूत भएर गिरिजा कोइराला, भारत र माओवादीबीच काम गर्न पाए । यस अर्थमा सिटौलाको भूमिका त्यसबखत षड्यन्त्रमूलक र जमिनमुनिको काम फत्ते गर्न महत्त्वपूर्ण रह्यो र कोइराला परिवारसँग उनको गोप्य साँठगाँठ पनि बन्यो ।
त्यसैले जबजब हामी सिटौलाको इतिहास हेर्र्छौं यी व्यक्तिले मुलुकका लागि वा जनताका लागि योगदान दिएका कारण नेता भएका नभई केवल षड्यन्त्रमूलक कार्यहरूमा एजेन्ट भई काम गरेका कारण काङ्ग्रेसमा आफ्नो स्थान बनाउँदै आएका छन् । नेपालमा गणतन्त्र आएपछि नेपालीको जीवनमा सकारात्मक परिवर्तन आउनुभन्दा पनि देश टुक्राटुक्रामा विभाजित हुने स्थिति आएको छ । यस्ता कुराहरूले सिटौलाजस्ता व्यक्तिलाई छाती पोल्न सक्तैन । उनी गृहमन्त्री भएको समयमा पङ्क्तिकारले पनि उनको काम हेर्ने मौका पायो । प्रहरी सङ्गठनमा उनले कुनै सुधार गरेनन् बल्की रक्तचन्दन र डाफर काण्डमा प्रहरी सङ्गठनलाई मुछेर गए । काङ्ग्रेस पार्टी फुटाउने समयमा उनको भूमिका ज्यादै ठूलो थियो । एक ढिक्का भएको पार्टी बहुमतमा छँदाछँदै पनि फुटेर अल्पमतमा पर्‍यो । न सिटौला जिल्लावासीका लागि फलप्रद भए न देश वा काङ्ग्रेस पार्टीकै लागि । यति हुँदाहुँदै पनि उनी त्यस पार्टीमा टिकिरहेका छन् त्यसको मूल करण हो कोइराला परिवार काङ्ग्रेस पार्टीमा सधैं आफ्नो वर्चश्व चाहन्छ । भारत पनि काङ्ग्रेसमा आफ्नो अनुकूलको नेतृत्व चाहन्छन् र त्यो नेतृत्व कोइराला परिवार नै हुन सक्छ भन्ने उसको ठहर देखिन्छ । त्यस परिवारलाई त्यो महत्त्वाकाङ्क्षा पूरा गराउन विदेशीसँग समन्वय गर्नेलगायत भित्री काम गर्न कोइराला परिवारलाई सिटौलाजस्ता षड्यन्त्रकारीहरूको आवश्यकता पर्दछ । त्यसैले हो सिटौला अझै टिकेका छन् । चाहे गगन थापा वा अर्जुननरसिंहले सबैभन्दा बढी काङ्ग्रेसी कार्यकर्ताको विश्वास किन नजितून्, वा तिनका मत किन नपाऊन् त्यसले कोइराला परिवारलाई खासै अर्थ राख्दैन । अर्थ राख्छ विदेशीसँग समन्वय गर्न सक्ने र आफ्नो महत्त्वाकाङ्क्षालाई बचाउन सक्ने व्यक्तिको । नेपाल न नेपालीको भलाइ त केवल भाषणमा बोल्ने कुरो मात्र हो ।
दक्षिण एसियाका धेरै मुलुक केवल षड्यन्त्रमै चलेका छन् । हाल आएर नेपालमा षडयन्त्रले अझै बढी महत्त्व पाएको छ । राजनीतिक वृत्तमा पनि जनतामा हारेका व्यक्तिहरू पनि पार्टीमा दबदबा कायम गर्न सफल छन् । यसको मुख्य कारण के हो भने यहाँ जनता र विकास केवल बोल्ने कुरा मात्र हो । त्यसले राजनीतिक उचाइ लिन खासै महत्त्व राख्दैन । उदाहरणका लागि सिटौला पनि एक हुन् । सिटौलाले गरेका राम्रा कुराहरू यो देशलाई थाहा छैन तर पनि उनी काङ्ग्रेस पार्टीको महामन्त्रीमा अध्यक्षबाट मनोनीत हुन सक्छन् । ती मनोनीत गर्ने अध्यक्षलाई पनि थाहा छ यी व्यक्तिले मुलुकलाई केही योगदान दिएका छैनन् र मुलुकलाई योगदान दिएर वा नदिएर उनलाई अध्यक्ष बनाउने कुरामा खास फरक पनि पर्दैन । जब समूह बनाएर चुनाव लडिन्छ त्यतिबेला व्यक्तिको नभई समूहको महत्त्व हुन्छ । जसरी जङ्गली हात्तीको पेटमा बसेको जुगा सुरक्षित हुन्छ किनकि जङ्गली हात्तीलाई जुगाको औषधि खुवाउने कसैको तागत हुँदैन त्यसैगरी सिटौलाजस्ता मानिसहरू पनि ठूला र शक्तिशाली व्यक्तिको भित्र छिरेर सुरक्षित भएका हुन्छन् । यथार्थमा तिनलाई सुरक्षा दिने हात्तीरूपी बलिया व्यक्ति नै हुन्छन् तर भित्रभित्र भने जुगारूपी सिटौलाजस्ता व्यक्तिले तिनै रगत चुसिरहेका हुन्छन् । कसैले जङ्गली हात्तीलाई माया गरी जुगाको औषधि खुवाउन गयो भने त्यसलाई हात्तीले दुश्मन ठानी मारिदिन्छ । हो, यस्तै हालत भएको छ काङ्ग्रेस पार्टीभित्र बोल्नेहरूको अहिले । हामी सबले बुझ्नर्ुपर्छ कि त्यस पार्टीमा पनि षड्यन्त्रको ज्यादै ठूलो महत्त्व हुँदै गएको छ । त्यसैले सिटौलाजस्तालाई त्यहाँ हर्ुर्किने, बढ्ने र झाँगिने राम्रो अवसर छ । यद्यपि हर्ेदा सुशील कोइरालाले सिटौलालाई महामन्त्री बनाएझैं देखिन्छ तर भित्री र गोप्य कुरा अर्कै छ । सिटौला कोइराला परिवारको काङ्ग्रेस पार्टीलाई आफ्नो मुठ्ठीमा राख्ने मनसुवाको एउटा हतियार हुन् । जबसम्म कोइरालाहरू काङ्ग्रेसमा हुन्छन् उनीहरूलाई सिटौलाजस्ता व्यक्ति चाहिन्छ । त्यसैले सिटौला काङ्ग्रेसका केन्द्रीय सदस्य वा महामन्त्री हुनु कुनै नौलो कुरो होइन । बुझ्नुपर्ने कुरा यति छ कि कोइराला परिवारले सिटौलाबाट जे फाइदा पाए पनि देशलाई भने सिटौलाजस्ताबाट केही फाइदा हुँदैन ।