प्रहरी इन्सपेक्टर नै चिकित्सकमाथि हातपातमा उत्रिएपछि…

प्रहरी इन्सपेक्टर नै चिकित्सकमाथि हातपातमा उत्रिएपछि…


सुनसरी इनरुवा–६ र ५ का बीचमा पर्ने गडन खोलानजिकै बविहिबार साँझ एम्बुलेन्सको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्युभएको छ । विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो ।

विहिबार साँझ इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा २४ प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै मृत्यु भएको थियो । तर, मृतक भट्टराइलाई उपचारका लागि भन्दै इनरुवा अस्पताल लगिएकोमा स्वास्थ्यकर्मीले अगाडि नै मृत रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी प्रहरी हातपातमा उत्रिएको बताइएको छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राससकर्मी अजितकुमार झाले जनाएअनुसार मृतक भट्टराईका आफन्तपर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डा तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीबार यादवलगायत सात जना स्वास्थ्यकर्मी माथि गुण्डा सैलीमा आक्रमण गरेका हुन् ।

प्रहरी निरीक्षक पोखरेलले बर्दी र बन्दुकको आडमा रक्सीमा मातेर आफूहरु माथि आक्रमण गरेको पीडित तुसार झाले बताएका छन् । अस्पतालको इमर्जेन्सी कक्षमा रहेका डा. झासहितका स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी समेतलाई बुट र लठीले कुटपीट गरेको झाले बताए ।

मृतक भट्टराई आफ्नो आफन्त रहेको र सिरानी नदिएको तथा उपचारसमेत नगरिदिएको आरोप लगाउँदै डाक्टरमाथि आक्रमण गरेको त्यहाँस्थित एकजना कुरुवाले प्रतिक्रिया दिए ।

उता सो घटनालाई लिएर जिल्ला अस्पताल पूर्णरुपमा बन्द गरी स्वास्थ्यकर्मीहरु अस्पताल अगाडि र सडकमा धर्ना दिएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् । चिकित्सकमाथिको आक्रमण सह्य नहुने भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, अस्पताल विकास समितिका अध्यक्ष रमेश कटुवाल, नेपाली कांग्रेका सचिव केदार भण्डारी लगायतले ऐक्बद्धता जनाउँदै चिकित्सको आन्दोलनमा सहभागी भएका छन् ।

चिकित्सकमाथिको आक्रमणको विरोधमा सुनसरीका सबै स्वास्थ्य संस्था साँझदेखि नै बन्द भएका छन् भने दोषीलाई कारबाहीको माग गर्दै इलाम, उदयपुर, धनकुटा, पोखरा, सप्तरीलगायतका क्षेत्रमा डाक्टरले सेवा अवरुद्ध गरेको स्वास्थ्यकर्मी राजीव मेहताले जानकारी दिए ।

जिल्लाको पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले घटना सुनेपछि राति ८ः३० बजे इनरुवा आइपुगेको र आन्दोलनमा सरिक भएको डा. वसन्त यादवले जानकारी दिए भने प्रहरी र प्रशासनले आफ्नो कमजोरी भएको भन्दै मिलाउने र वार्ता गर्ने तयारी गरिरहेको बुझिएको छ ।

आन्दोलनमा उत्रेकाले भने कारबाही नभएसम्म शुक्रबार बिहानैदेखि इनरुवा बजार बन्द गर्ने र स्वास्थ्यसंस्था समेत अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् ।